च्याउ व्यवसायमा रमाउँदै पुर्व लडाकु रसिक प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १८:०१ ताप्लेजुङ ।एलिना दियाली ।हँसिलो मुहार। फुर्तिलो हाउभाउका साथ च्याउ टिप्दै गरेका रसिक । उनको वास्तविक नाम रमेश राई हो । देश परिवर्तन गर्छु भनेर १० वर्षे जनयुद्धमा होमिए देखि उनको परिचय रसिक भयो । गोलि बारुद सहित जिबन आहुती दिन तमतयार भएर लागेका रसिकको दैनिकी आजभोलि च्याउ रोप्न, टीप्न र बेच्न मै बित्छ । जब शान्ती सम्झौता भयो त्यस पश्चात उनी ताप्लेजुङको डुमृसे स्थित आफ्नो घर फर्किए । केही समय गाउँ मै बसे । छोराछोरीको हुर्किदो अवस्था र भबिस्यको चिन्ताले के गर्ने भन्ने सोच्न थाले । उनीसँगैका धेरै जना साथीहरू सुनौलो भविष्यको सपना बोकेर विदेशी भुमिमा पसिना बगाउन तर्फ लागे । तर रसिकले कहिल्यै विदेशीने सपना देखेनन् । उनले गाउँबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङ ७ मा आएर जग्गा भाडामा लिए । त्यसपछि च्याउ उत्पादन सम्बन्धि तालिम लिए । दुमि कृषि फार्म संचालन गरेर च्याउ उत्पादन गर्न सुरु गरे। देश मै गर्न सके सबथोक हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै उनी देशमै रहे । उनलाई बिदेश मोहले कहिल्यै छोएन । आफू जन्मेको माटोले तानी रह्यो । उनि मुस्कुराउँदै भन्छन्,‘ माओले भन्नु हुन्थ्यो रे युद्ध र राजनीतिलाई प्राथमिकता देउ तर उत्पादनलाई नबिर्स ।तर अहिलेको देशको अवस्थालाई हेर्दा उत्पादनलाई प्राथमिकता देउ तर राजनीतिलाई नबिर्स भने जस्तै भएको छ ।’ तरकारीमा हाम्रो देश पर निर्भर रहनु दुःखद रहेको बताउँदै उनि बाँझो जग्गामा सम्पुर्ण युवा उत्पादनसँग जोडिए मात्रै पनि देशमै धेरै आम्दानी गर्न सकिने बताउँछन् । २०७१ सालमा ५ लाख ऋण लिएर सुरु गरेको व्यवसायमा अहिलेसम्म १५ लाखा लगानी भएको उनी बताउँछन् । मासिक दुई लाख बढीको कारोबार हुने रसिकको च्याउ उधोगबाट उनले मासिक ५० देखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएका छ्न् । उनले च्याउलाई ताप्लेजुङ बजार सहित पाँचथर सदरमुकाम फिदिम समेत निर्यात गर्दै आएका छ्न् । होलसेलमा २०० रुपैयाँ प्रती केजि र खुद्रामा २८० रुपैयाँमा च्याउ बेच्ने गर्दछ्न । आफ्नो व्यवसायको बारेमा बताउँदै गरेका रसिक विगत सम्झिएर भावुक हुन्छन् । उनको उज्यालो अनुहारमा मलिनताका धर्साहरु स्पष्ट झल्किन्छन् । केहि बेर मौन रहेका उनि फेरी आफ्नो कुरालाई निरन्तरता दिँदै भन्छन्,‘ द्धन्द्धकालिन जिवन सम्झिदाँ जिउँ काप्छ । अहिलेको भरे के हुन्छ भन्ने टुङ्गो थिएन । खुकुरीको धारमा थियो जिवन । अहिले त निर्धक्कका साथ व्यवसाय सञ्चालन गरेको छु । आम्दानी पनि राम्रै छ । व्यवसाय गरेदेखि फर्केर हेर्नु परेको छैन ।’ जिबनको ४५ औं बसन्तमा पाईला चाल्दै गरेका उनलाई न युद्धमा होमिएको मा पस्चाताप छ न कुनै गुनासो नै । फार्ममा आएका ग्राहकलाई च्याउ बेच्दै उनी भन्छ्न्, त्यो बेलाको परिस्थितिले युद्धमाग्योव्यवस्था बदल्नका खातिर । सोही अनुसार युद्धमा होमिए । त्यसम कुनै गुनासो छैन ।अहिले अवस्था बदल्न उत्पादन माग्यो म येसैमा लागि रहेकोछु ।’ च्याउ व्यवसायबाट उनि आफु र आफ्नो परिवार मात्रै स्वरोजगार भएका छैनन् । उनले अन्य ३ जनालाई रोजगारी समेत दिएका छन् । स्थानिय स्तरमा पाईने परालबाट च्याउ उत्पादन हुने गर्दछ । हाल २४ वटा टनेलमा च्याउ उत्पादन गरि रहेका रसिकको भविष्यमा अझ व्यवसायलाई विस्तार गर्दै लैजाने योजना रहेको छ ।