आजै शान्ति सम्झौता हुनसक्छ नेता किमले दक्षिण कोरिया पुगेर भने प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ०८:४२ काठमाडौं/ उत्तर कोरियाका नेता किम जोङ्ग उनले शान्ति होस् भन्नेहरुको आशा पूरा गर्नका लागि आजै एक सम्झौता हुने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ । गैरसैनिक क्षेत्रमा जारी वार्ताबाट दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणालगायतका विषयमा ऐतिहासिक निर्णय हुने अपेक्षा गरिएको छ । वार्ताका लागि उत्तर कोरियाका नेता किम दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनले वार्ता शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागत गरेका थिए । यसैगरी परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो । दुई देशको राष्ट्रिय गान पनि बजाइएको थियो । सन् १९५३ मा कोरिया युद्धपछि दक्षिण र उत्तरको रुपमा कोरिया बिभाजित भएको थियो । सो युद्ध अन्त्य भए पनि दुई देशबीच कटुतापूर्ण सम्बन्ध थियो । यही क्रममा दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।