काठमाडौं महानगर धुम्रपान मुक्त सहर घोषणा ।

१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुम्रपान  तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको छ ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई हेल्दी सिटी (स्वस्थ सहर) को रुपमा विकास गर्न धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको जानकारी गराएका हुन ,धुमपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न गएको असरलाई न्यूनिकरण गर्दै लैजाने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण र नियमन गर्ने उद्देश्यले बुलुम्बर्ग फिलानट्रोपिजको सहयोगमा यो अभियान सुरु गरेको हो ।

मेयर शाक्यले मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह जस्ता प्राणघातक रोगबाट बचाउन पनि यस्ता अभियानमा संचालन गर्नु परेको पनि स्पष्ट पारे ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमै नेपालका महिलाहरु सबैभन्दा बढी धुम्रपान गर्छन् । नेपाल सरकारले धुम्रपान नियन्त्रण गर्दै लैजाने योजना अनुसार २०४९ सालदेखि नै सार्वजनिक रुपमा धुम्रपान गर्न निषेध गरेको छ ।

यो अभियानबाट महानगरपालिकामा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्