पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार प्रहार गरी हत्या प्रयास प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०९:०४ इस्लामावाद, पाकिस्तान / पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।” प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको उहाँले बताउनुभयो । यसबारे थप जानकारी आउन बाँकी छ । यसैबीच प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने छ भनी प्रतिनिधिसभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताएपछि भएको छ । अब्बासीले शनिबार आँफ्नो दलको प्रतिष्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरिक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुने बताउनुभएको थियो । पाकिस्तानमा आगामी महिना संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ । रासस/एएफपी