अन्ततः फोरम सरकारमा आउने, नेकपा र फोरमबीच सहमति [सहमति–पत्र सहित] प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १२:२४ तस्विर : सामाजिक सञ्जालबाट काठमाडौं / अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा सहभागिताबारे दुई बुंदे सहमति भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागीा हुनेबारे सहमति भएको हो । सत्तापक्ष र फोरम नेपालबीच भएको सहमति अनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ । फोरमलाई दुई मन्त्रालय फोरम ओली सरकारमा सहभागी हुने दोस्रो सहमति छ । नेताहरुका अनुसार फोरमले दुई मन्त्रालय पाउनेछ । तर, यसबारे छलफल हुन बाँकी नै रहेको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यो दुबै मन्त्रालय फोरमले लिने सहमति भएको थियो । तर, सहरी विकासबाट खानेपानी फुटाउनुका साथै स्वास्थ्यमा एमालेबाट पद्मा अर्याल राज्यमन्त्री भएपछि फोरम रुष्ट बनेको थियो । मन्त्रालयबारे थप छलफल भएपछि आफूहरु सरकारमा जाने फोरम नेता श्रेष्ठले बताए । सहमति-पत्र यस प्रकारको छ । सहमति-पत्र सहमतिपत्रमा ‘संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा गरिने’ उल्लेख छ । ‘सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने’ सहमतिपत्रमा उल्लेख छ । सहमतिको दोस्रो बुँदामा ‘संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने’ उल्लेख छ ।