गुन्डा नाइके लामामाथि गोलि प्रहार, अस्पतालमा श्रीमतीको रुवावासी प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १६:२० काठमाडौं / मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके अशोक लामामाथि काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा प्रहरीले गोली प्रहार गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका लामालाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहका अनुसार लामाको साथबाट एकथान पेस्तोल र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । ‘सट्टेबाजी’ मुद्दामा फरार दावा लामाका सहयोगीको रुपमा सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएकी श्रीमती अस्पतालमा पुगेर भक्कानिएकी छिन् । केही समयअगाडि न्युरोडको एक ब्यापारीलाई पैसा नदिएको भन्दै खुकुरी प्रहार गरेपछि प्रहरीले अशोकमाथि निगरानी बढाएको थियो । धाकधम्की दिएर उठाएको पैसा मिटर ब्याजमा लगाउने तथा जुवा खेलाउने धन्दा चलाउँदै आएका लामामाथि हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिने अपराध महाशाखाले जनाएको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।