ताप्लेजुङको नगरपालिकाका दुईवटा वडा विगत नौ दिनदेखि अन्धकार प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १०:१३ ताप्लेजुङ, / विद्युत्सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुईवटा वडा विगत नौ दिनदेखि अन्धकारमय बनेका छन् । आयोजनाको व्यवस्थापनमा हेलचेक्राइँ हुने गरेकाले लामो समयसम्म विद्युत् अवरोध हुँदै आएको स्थानीयको आरोप छ । हाल बिग्रिएको टर्वाइन मर्मतका लागि अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ । यस्तै उक्त आयोजनाले ल्याब टेष्ट नगरेका साथै कमसल प्रकारका मिटरबक्स जडान गरेकाले उपभोक्ता समस्यामा परेको जनाइएको छ । सामान्य बत्ती बाल्दा पनि धेरै महशुल देखिने, मिटर बक्सबाट ठूलो आवाज आउनेजस्ता समस्या देखिएको स्थानीय घनेन्द्र गुरुङले बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माणका समयमा भएको इस्टमेटअनुसारका सामान नल्याइएको र कमसल प्रकारका सामान जडान गरिएकाले समेत समस्या भएको छ । विभिन्न ठाउँमा अर्थिङ जडानका लागि उपभोक्तासँग आयोजनाले पैसा उठाएको तर हालसम्म अर्थिङ जडान नहुँदा आफूहरु त्रासमा परेको स्थानीयले बताएका छन् । ९५ किलोवाट क्षमताको उक्त आयोजनाबाट ९४५ घरपरिवारले विद्युत् उपभोग गर्दै आएको बताइएको छ । रासस