छापामा आजः रेशमलाई जेलभित्रै शपथ, सरकारी भवन कब्जा गरी बोर्डिङ ! तरलता अभावपछि सहकारीको शरणमा बैंक

५ चैत, काठमाडौं । आज सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् । केहीले राजनीतिकलगायतका विषयलाई बढी जोड दिएका छन् भने कुनैले न्यायालयको बेथिति उधिनेका छन् ।

नयाँ पत्रिका दैनिकले आज ‘६१ अर्बका मुद्दाः आदेश दिने इजलास’ शीर्षक दिएर विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा भएका फैसलाबारे समाचार लेखेको छ । नयाँ पत्रिकामै पूर्वमन्त्री विश्वेन्द्र पासवानले उपचार खर्चको साढे ४३ लाख निकासा पाएको खबर पनि छ । अन्नपूर्ण पोस्ट दैनिकले पनि नयाँ पत्रिकाले जस्तै न्यायालयमा रहेको बेथिति कोट्याएको छ । समयमै फैसला नहुँदा र भएका फैसला कार्यान्वयनमा ढिलाइ हुँदा न्यायमै अन्याय हुने गरेको अन्नपूर्णको समाचारको सार छ । रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी गरिएको समाचारलाई पनि आज अन्नपूर्णले पहिलो पृष्ठमा महत्त्वका साथ छापेको छ ।

नागरिक दैनिकले लगानीयोग्य पुँजी अभावपछि बैंकहरु निक्षेत्र खोज्दै सहकारी धाउन थालेको समाचार लेखेको छ भने कान्तिपुरले सुनसरीमा शनिबार राति लागेको आगोले सिंगो बस्ती नै खसाप भएकोलाई मुख्य समाचार बनाएको छ ।

कांग्रेसमा गुट हेरफेर, क–कसले बदले ?

नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय बनेको समाचारलाई आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि कांग्रेसमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ ।

नागरिक दैनिकका अनुसार नेताहरुले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहमा मात्रै होइन, १३ औं महाधिवेशनपछि अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समूहमा समेत हलचल आएको छ । महाधिवेशन भएको दुई वर्षमा सभापति शेरबहादुर देउवा गुटबाट अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र चन्द्र भण्डारी बाहिरिएका छन् ।

यसैगरी पौडेल र सिटौला समूह पनि एकपछि अर्को गर्दै कमजोर बन्न पुगेको नागरिकको समाचारमा उल्लेख छ ।

रेशमलाई जेलभित्रै शपथ !

टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ संसद सदस्यको शपथ गराउने तयारी भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेताहरुसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतको हवाला दिँदै अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

राजपा नेताहरुले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो ।

अन्नपूर्णको दाबी छ– शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ ।

पूर्वमन्त्री पासवानको उपचारका लागि ४३ लाख निकासा

पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपरचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । समाचार अनुसार, पासवानले पाउरोटी आएकोदेखि भारु साटेकोसम्मको ३० लाख पेश गरेकोमा त्यो भने रोकिएको छ ।

मुलुकको घाटा निरन्तर चुलिँदो

तीन महिनायता लगातार ऋणात्मक रहेको मुलुकको शोधान्तर घाटा गत माघमा सवा १८ अर्ब रुपैयाँ पुगेको छ । आयातमा भएको उच्च वृद्धि, घट्दो रेमिट्यान्स आप्रवाह र विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिलगायत कारण गत माघमा शोधनान्तर स्थिति ठूलो रकमले घाटामा गएको कान्तिपुर दैनिकमा समाचार छ ।

समाचार अनुसार चुलिँदो शोधनान्तर घाटाले समग्र अर्थव्यवस्थामा नकारात्मक असर पर्ने विज्ञहरुले बताउँदै आएका छन् । शोधनान्तरले मुलुक भित्रिने र बाहिरिने रकमबीचको अवस्था देखाउँछ । बाहिरिनेभन्दा भित्रिने रकम बढी भएमा शोधनान्तर बचतमा हुन्छ । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ ।

यता, नागरिक दैनिकले मुलुकको चालु खाता घाटा एक महिनामै दोब्बर भएको जनाएको छ । ६ महिनासम्म करिब ७५ अर्ब रुपैयाँ रहेको चालु खाता घाटा सातौं महिना पूरा हुँदा एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । नागरिक दैनिकका अनुसार आर्थिक वर्षको सुरुदेखि नै घाटामा रहँदै आएको चालु खातामा एकै महिनामा ६६ अर्ब रुपैयाँ घाटा थपिएको राष्ट्र बैंकले जनाएको छ ।

सहकारीको शरणमा बैंक

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरु निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् । ऋण लगानी गर्न रकम नभएपछि आकर्षक व्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् ।

नागरिक दैनिक खबरको अगाडि लेख्छ– बैंकमा प्रशस्त लगानीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च व्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् । पहिला सहकारी संस्थाहरु निक्षेप संकलन भएको रकम थोरै व्याजदरमा भए पनि सुरक्षितसँग राखिदिनका लागि बैंक धाउनुपर्ने अवस्था रहेकोमा अहिले ठ्याक्कै उल्टो भएको नागरिक दैनिकको समाचारको सार छ ।

र, यो पनि–सरकारी भवन कब्जा गरी बोर्डिङ

पर्साको बहुदरमाई नगरपालिका रामनगरस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवनमा पाँच वर्षदेखि निजी विद्यालय सञ्चालनमा छ । देवनन्दन देवराज माविसँग जोडिएर रहेको सिँचाइ कार्यालयको १० कोठे भवनमा ०६९ देखि दुर्गा एकेडेमी सञ्चालनमा रहेको अन्नपूर्ण पोस्ट दैनिकको भित्री पृष्ठमा खबर छ । समाचार अनुसार, ३ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय सञ्चालकले पीजी र नर्सरीका विद्यार्थीबाट तीन सय, एलकेजीमा तीन सय २५ , यूकेजीमा ३ सय ५० , कक्षा १ मा ३ सय ७५, २ मा ४ सय र ३ मा चार सय २५ रुपैयाँ मासिक शुल्क असुल्दै आएका छन् ।

अन्नपूर्ण लेख्छ– निजी विद्यालय सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिनुपर्छ तर पाँच वर्षदेखि सञ्चालित यो विद्यालयले सरकारी निकायबाट अनुमति समेत लिएको छैन ।


प्रतिक्रिया दिनुहोस्