यो कस्तो सहर !

प्रमिला भण्डारी

आखिर के छ यो सहरमा ?

दुःखान्त यात्रा र दुःखका कथाहरू बाहेक । आफूलाई रंगी विरंगी र चम्किला लुगाभित्र सकसका साथ गुम्साएर बाहिर आफू बाँचेको अभिनय गरिरहेका मान्छेहरू, लाखौको भिडमा एकले अर्कोलाई के छ आराम छौ ? भनेर सोध्न समेत समय नभएका मान्छेहरू, शब्द शब्दमा शब्दको मोल तौलने मान्छेहरू र गाउँमा आफूलाई नभेटेपछि आफू भित्रको आफू खोज्दै सहर पसेका मान्छेहरू विभिन्न दृश्यहरूमा अभिनय गरिरहेका छन् । आफू पनि कतै तिनै दृश्य र अभिनयमा हराएँ कि भनेर खोजूँजस्तो लाग्न थालेको छ ।

हेर्दा सहरमा ठूलाठूला घरहरू, महँगा होटेलहरू, व्यापारिक भवनहरू, राम्रा र महँगा स्कुल र कलेज छन् । हेर्दा निजी अस्पताल पाँचतारे होटेल भन्दा कम देखिदैनन् । कालोपत्रे फराकिला सडक, बिजुली, फोन, इन्टरनेटले सुविधा सहर देखिन्छ तर नियालेर हर्ने हो भने उराठ लाग्दा दृश्यको थाक देखिन्छ । आफ्नो भौतिक र अभौतिक दुवै अनुहार निरन्तर फेरिरहेको यस सहरमा पुराना घरहरू खण्डहर भइरहेको र खेतहरूमा घरहरूको भीड दिन प्रतिदिन बढदैँ गएको देखिन्छ ।

झिस्मिसे उज्यालो पनि हुन नपाई सार्वजनिक सवारीहरूमा ठेल्म ठेल गर्दै, अनेकतिर कुइनो र कुम ठेल्दै, सवारी भित्रका फलामे डन्डीहरू पक्रेर वा कसैको पिठ्युँको भरमा आफूलाई थामेर धर्मराउँदै उभिइरहेका यात्रुले जब सिटमा टुसुक्क बस्ने अवसर पाउँछन तब आफूलाई धन्य सम्झिँदै लामो सुस्केरा हाल्छन् । सवारीको ढोकामा समेत जेनतेन गरेर आफूलाई अडाइरहेको यात्रुलाई देख्दा सिटमा बस्ने यात्रुले आफूलाई ‘भाग्यमानी’ सम्झिन बाध्य छन् ।

पाखुरामा बल र खुट्टामा तागत नभएका मानिसहरू यो सहरको पेटीमा बिना हिचकिचाएँ हिड्‌न सक्लान् त ? भीड नै भीडले भरिएको सहरमा गर्भवतीहरूलाई र अपांगता भएकाहरूलाई जोगिएर हिँड्न मुस्किल छ  ।  जहाँ नवजात शिशु च्यापेर बा–आमा गफ गर्दै एकैछिन हिँड्ने कल्पना गर्न पनि सकस छ, जहाँ वृद्ध–वृद्धा बाटो काटेर घर आइसकेपछि लामो सास तान्दै भन्नु पर्छ ‘आज त बाँचेर आइयो’, स–साना बाबु–नानीलाई एकैछिन  खेलाउने ठाउँ खोज्दै र उनीहरूको मुहारमा सानो मुस्कान ल्याउन रेस्टुरेन्टहरूमा छिर्नुपर्छ ।  

यस व्यस्त सहरको कुनै व्यस्त गल्लीको पेटीमा बसेर यसो नियाल्नु पर्छ मानिसहरू भ्याइ नभ्याइ दौडिरहेका छन् । बाँच्नै छोडेर दौडिरहेका मान्छेको यो दौड के भेट्टाउनका लागि हो भन्ने बुझिनसक्नु छ । मान्छे कुँदिएर अझ सुन्दर मान्छे हुँदै थियो वा कुँदिएको भ्रममा खिइएर सकिँदै थियो बुझ्न कठिन छ ।

राजनीतिले खाएको यो सहर, दायित्वले थिचिएको र दायित्वलाई कुल्चिएर बेइमानीले स्वर ठूलो बनाएको यो सहर, युवाहरूको श्रमको सस्तो मोलतोल गरि व्यापार हुने यो सहरमा आफ्नो श्रमको महँगो मोल गर्ने होडबाजीको खोजीमा प्रदेशीन तयार युवाहरू विवश पूर्ण मुहार लिएर राहदानी विभागबाहिर उभिन बाध्य छन् ।  राहदानी हात पार्दा कुनै युद्ध जितेर फर्केको सिपाहीको अनुहारको झल्को बोकेर सडकमा निस्कन्छन् त्यो युवा । महिनौँ निरुपाय हालतमा ३ फिट लामो लाइनमा बसेका ति सेवाग्राहीहरूलाई सरकारी कर्मचारीहरू  कुनै न्यूनतम मर्यादा पनि नराखी सेवा प्रदान गरेर आफ्नो कर्तव्य निभाउँछन् ।

वर्षौ देखि अलपत्र कयौँ सडकका ती खाल्डाहरु, घर घरमा पानी ल्याउने भनी गरिएका ती बाचाहरु, सडकपेटीमा विद्युत् प्राधिकरणका हप्तौँसम्म लत्रिएका ति तारहरू, सडकमा ठाउँ–कुठाउँ ढलका फुटेका पाइपहरू र यसबाट कोसौ टाढासम्म फैलिएको दुर्गन्ध तर यस्तो दृश्य महिनौँसम्म आखा भएका अन्धो जस्तै थाहा नपाए झै गरिदिन सक्छन् सरोकारवाला निकायहरू । जबसम्म यी खाल्डो वा ढलमा परि कसैको दुर्घटना भई सामाजिक सञ्जालमा भाइरल र कमेन्टको तछाड मछाड हुदैँन सरोकारवाला निकायहरू निद्राबाट बिउँझिने वाला छैनन् ।

यो सहर, जहाँ सरकारी निकायको एउटा फारम भर्न लाइनमा बसेर युद्ध लड्नु पर्छ, अनलाइन व्यवस्था भएका निकाय कुन बेला सफ्टवेयर ह्याक हुन्छ होला भनेर चिन्तित हुनुपर्छ । एउटा विद्यार्थी आफ्नो शैक्षिक प्रमाणपत्र बोकेर गल्ली गल्ली भौरारिनु पर्छ  । महिनौँसम्म कागजको खुइलिन लागेको चिर्कटो बोकेर आफ्नो पालोको लागि सरकारी निकाय धाएर ज्यू हजुर गर्नुपर्छ ।  जहाँ नागरिक आफ्नो अधिकार पनि भिख मागेको शैलीमा माग्छन र सामाजिक सञ्जालबाटै सम्पूर्ण क्रान्ति फत्ते गरेको भ्रममा रमाउँछन् ।

यो सहर अनेक खालका राजनीति र सरोकारवालाका शासकहरुबाट शासित भएको छ जहाँ सरकारमा भएकाको महल अग्ला छन्। गरिब र निमुखाहरुको यी पेटमा कराएका आवाज कसरी त्यहाँ पुग्न सक्छ र, होइन ? धुलो र धुवाको कणमा नै हराउँछ गरिबका आवाज जहाँ स्वच्छ हावाको झोक्का महसुस गर्न वरपरका डाँडातिर उक्लनुपर्छ, जहाँ स्वच्छ पानी पिउन मूल्य तिर्नुपर्छ, जहाँ सम्मानित श्रम गर्ने सपना पूरा गर्न अनेकौँ कार्यालयमा चक्कर काट्नुपर्छ ।

यहाँ सधैँ ठुलाबडा र पैसावाला मानिसहरू हावी हुन्छन् । जहाँ गरिबहरूलाई बिहान साझँ हात मुख जोड्न धौधौ हुन्छ । अवैध भवन ठडाउने र कानुन मिच्नेहरु कानुन भन्दा माथि देखिन्छन्, तर एकाध हजारको कारोबार गरेर खुद्रा–मसिना सपना देख्नेहरूको दण्डित हुन्छन् ।

सहर बनिरहेको छ तर सहर कसका लागि बनाउने काम भइराखेको छ भन्ने कुरामा राज्य र सरकारी संयन्त्र नै प्रस्ट छैनन् । एउटा अभिभावकले हिँडेर अथवा साइकल चढेर आफ्नो बालबालिका स्कुल पुर्याउने वातावरण हुनुपर्यो । एकजना वृद्ध आमा पैदल यात्रा गरी मन्दिर पुगेर सहजै फर्केर आउनसक्छु भन्ने वातावरण अहिले छैन । भनेपछि यो सहर कसका लागि बन्दैछ त ? यो सहर जसरी ठुलाबडा र पैसावालाको हो, उसैगरी निमुखाहरूको पनि हो । यो सहर आवाज नहुनेहरूको पनि हो । यो सहर गति नहुनेहरूको पनि हो । यो सहर सुस्केरा हुनेहरूको पनि हो । यो सहर जीवनको उडान भर्नेहरूको मात्रै होइन, जीवनको भिख माग्न आइपुगेकाहरूको पनि हो ।

सहर कमजोरको लागि बनायो भने बलियोको लागि यत्तिकै पनि सजिलो हुन्छ । बाटो केटाकेटी, अपाङ्गता, वृद्धको लागि सहज हुने बनाए अरू बलिया नागरिकलाई त यसै पनि सहज हुन्छ । 


प्रतिक्रिया दिनुहोस्