रास्वपाको मिसन ०८४ के हो ?


पाथीभरा प्रेस
ताप्लेजुङ । मिसन ०८४ को बिषयमा विभिन्न प्रकृतिका टिकाटिपणी नेपाली राजनीतिक बजारमा आईरहेका छन् । मिसन ०८४ भनेर पहिलो उद्घघोष गर्ने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो । के हो मिसन ०८४ ? किन मिसन ०८४ ? किन रास्वपाले मिसन ०८० भनेर आजैबाट राजनीतिक सफाई नगरेको ? आमजनताले यो बिषयमा जान्न बुझ्न खोजेका छन भने केही पुराना राजनीतिक दलले यो बिषयमा निकै ठूलो अत्तो थाप्ने कार्य समेत गरिरहेका छन ।

समाजमा स्थापितले नयाँको हुर्मत लिने आमविश्वव्यापी मान्यता अनुरुपन नै नेपालमा अहिले नयाँ भनाउँदाको पाए सम्म सबै कथित स्थापितले हुर्मत लिईरहेको घाम जस्तै छर्लङ्गै देखिएको छ । २०७९ साल असार ७ गते बिधिवत तवरले नेपालमा उद्घघोष भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले २०७९ असार १७ गते निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको थियो । पार्टी उद्घघोष भएको ५ महिनालाई ३ दिन नपुग्दै प्रतिनिधि सभामा भागलिई नेपाली राजनीतिमा अप्रत्याशित नतिजा ल्याई मुलुककै चौथो ठूलो तथा राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।

सोही निर्वाचन बाट रास्वपाले सभापति रबि लामिछाने – चितवन २, सोबिता गौतम – काठमाण्डौ २, शिशिर खनाल – काडमाण्डौ ६, गणेश पराजुली – काठमाण्डौ ७, बिराजभक्त श्रेष्ठ – काठमाण्डौ ८, हरि ढकाल – चितवन १, तोसिमा कार्की –ललितपुर ३ गरि सात जनाले सङ्घिय सांसद यानेकी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ र कुल खसेको सदर मत १०,५,६०,०६७ को १०.७% यानेकी ११,३०,३४४ मत ल्याएर १३ जना सांंसद(सुमना श्रेष्ठ, मनिष झा, सन्तोष परियार, डोल प्रसाद अर्याल, निशा डांगी, अशोक कुमार चौधरी, ईन्दिरा राना मगर, डा. चन्दा कार्की, डा. ढाका कुमार श्रेष्ठ, असिम शाह, लक्ष्मी तिवारी, शिव नेपाली, बिनिता कठायत) प्रतिनिधि सभाको समानुपातिकतर्फ चयन गराई कुल २० जना सांसदलाई प्रतिनिधि सभामा पठाउन सफल भएको थियो ।
डा. ढाका कुमार श्रेष्ठलाई लेनदेनको लान्छना लागे पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले RIGHT TO REJECT को बिधिबाट डा. ढाका कुमार श्रेष्ठलाई पदबाट हटाएर बिन्दबासिनी कंसाकारलाई प्रतिनिधि सभाको समानुपातिक सदस्यमा मनोनित गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने लगायत २० जना सङ्घिय सांसद प्रतिनिधि सभामा उपस्थित भए पश्चात् गठन भएको पहिलो सरकारमा रास्वपाको तर्फबाट तीनजना ( रबि लामिछाने – उपप्रधानतथा गृह मन्त्री २६ डिसेम्बर २०२२ देखि २७ जनवरी २०२३, डोलप्रसाद अर्याल – श्रम तथा रोजगार मन्त्री १७ जनवरी २०२३ देखि ५ फेब्रुअरी २०२३, शिशिर खनाल – शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री १७ जनवरी २०२३ देखि ५ फेब्रुअरी २०२३) क्याबिनेट मन्त्री र १७ जनवरी २०२३ देखि ५ फेब्रुअरी २०२३ सम्म डा. तोसिमा कार्की – स्वास्थ तथा जनसङ्ख्या राज्यमन्त्री भै काम गरेका थिए ।


रबि लामिछानेले अमिरिकी नागरिकता त्याग गरिसके पछि नेपाली नागरिकता पुनःप्राप्ती नगरेको भन्ने सर्वोच्च अदालतको फैसला पश्चात् सोहीदिन २७ जनवरी २०२३ शुक्रबार सांसद पद र पार्टी सभापतिको पद गुमाएका थिए भने २९ जनवरी २०२३ आईतवार नै सरकारी प्रक्रिया पु¥याई नागरिकता प्राप्ती गरेका थिए । यसरी रिक्त भएकोे चितवन २, प्रतिनिधि सभाका सांसद रामचन्द्र पौडेल सम्माननिय राष्ट्रपतिमा सिफारिस भैसके पश्चात् खालि भएको तनहु १ र माननीय राम सहाय यादवलाई उपराष्ट्रपतिमा सिफारिस भए पश्चात् खाली भएको बारा २ मा गरि कुल ३ स्थानमा बैसाख १०, २०८० मा सम्पन्न निर्वाचनमा रास्वपाका सभापति रबि लामिछानेले ५४,१७५ मत प्राप्त गरि बिजय हाँँसिल गरेका थिए भने मंसिर ४,२०७९ मा सोही निर्वाचन क्षेत्रबाट ४९,२६४ मत प्राप्तगरि जीतहासिल गरेका थिए ।

यसै गरि उपनिर्वाचनको सङ्घारमा रास्वपा प्रवेश गरि तनहु १ बाट चुनाबी प्रतिस्पर्धामा उत्रिएका डाक्टर स्वर्णिम वाग्लेले कुल ३४,४८० मत ल्याई विजयप्राप्त गरेका थिएभने निकटतम प्रतिद्वन्द्वी गोविन्द भट्टराईले २०,०९२ मत प्राप्त गरेका थिए । बारा क्षेत्र नम्बर २ बाट नेपाली काङ्ग्रेस, माओवादी र विभिन्नदलहरू सँग गठबन्धन गरि जनता समाजबादी दलका उपेन्द्र यादवले २८,४१५ मत ल्याई बिजय हासिल गरेका थिए । राज्यको सम्पुर्ण शक्ति लगाएर पराजयको अपेक्षा गरिरहँदा तनहुँ २ मा डाक्टर स्वर्णिम वाग्लेले १४,३८८ मतान्तरले गोबिन्द भट्टराईलाई र रबि लामिछानेले ४३,०६१ मतान्तरले जीत नारायण श्रेष्ठलाई पराजित गरिनु र मंसिर ४, २०७९ को मत भन्दा सोही चितवन २ मा ४,९११ मत रबि लामिछानेको वृद्धि हुनुले रास्वपाको साख दिनानुदिन गुणात्मक वृद्धि भएको प्रष्ट देखिन्छ ।

२०७९ मंसिर ४ गते अगाडीसम्म रास्वपाको खासै कुनै संगठन बिनानै कुल प्रतिस्पर्धा गरेको १३१÷१६५ मध्ये प्रत्यक्षमा ७÷१६५ सिट र मुलुक भरी बाट १०.७% समानुपातिक मत प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि हो । संगठन, क्रान्ति, जेल, सडक आन्दोलन जस्ता पुरातन राजनीतिक बायोग्राफी नभएका तर योग्य, क्षमतावान, विकास र समृद्धिका बाटाको अनुभव भएका समग्र राजनीतिक चेत सहितका असल अनि ईमान्दार ब्यक्तिलाई जनताले पत्याउने कसिको रुपमा गएको प्रतिनिधि सभाको निर्वाचन २०७९ मंसिर ४ र बैशाख १०, २०८० लाई लिन सकिन्छ । मुलुकले परिवर्तन खोजीरहेको र यसको सुरुवाती सङ्केत २०७९ मंसिर ४ ले घण्टी बजाएर दिई सकेको छ ।


के हो मिसन ०८४ ? हरेक राजनीतिकदलको आआफ्नै गति अनि पद्धति हुने गर्दछ । रास्वपाको जन्म भएको ५ महिना नै नपुग्दै, भएको प्रतिनिधि सभाको चुनावमा उल्लेख्य अभ्यास गर्न नपाएकोले नेपालको ७७ वटै जिल्लाहरु र सो भित्रका सबै चुनावी क्षेत्रहरु (१६५ निर्वाचन क्षेत्र) माआफ्नो प्रतिनिधि वा उम्मेद्वार समेत राख्न नसकेको सबैलाई जगजाहेर नै छ । रास्वपाका सभापति रबि लामिछाने बाहेक अन्य कोहि पनिआम नेपालीले नसुनेका अनि नदेखिएका पात्र र केही पात्रहरु आफ्नै जिल्लामा सामान्य रुपमा समेत नचिनिएकाहरुबाट प्रतिनिधि सभाको निर्वाचनमा भागलिनु परेको थियो ।

सङ्गठनको जालो, अगाडी पछाडी लावालस्कर, पैसाको खोलो बगाउदै ठुला ठुला चिल्ला चाप्ला अनि रंगिन घोषणा पत्रका साथ चुनावमा भागलिने संस्कारलाई तोड्दै यथार्थपरक बिषय उठान र कोहि कसैलाई गालीगलौच समेत नगरी सामान्य घर दैलोको भरमा ७÷१६५ प्रत्यक्षमा र १३÷११० समानुपातिकमा रास्वपाले जीत हाँसिल गर्नुले पुराना दलप्रती जनताको बिकर्षण प्रष्ट झल्किन्छ । यति सम्मको जीतको मुख्य रहस्य भनेकै रास्वपा सँग केवल मुलुकको मुद्दा हुनु र मुख्यतः पुरानादलहरुसँग जनताको भरोसा अत्यन्तै खस्किनु हो ।

बेथिती र भ्रष्टाचारको बिषयमा संसदमा गुन्जिएका आवाजहरु नेपालका कुनाकन्धरा सम्म पुगेको देख्दा रास्वपाको ०८४ को प्रतिध्वनीको गुन्जन आजैबाट टोल र गल्लीगल्लीमा सुनिन थालेका छन । हो यसले प्रष्ट्याउँदैछ कि रास्वपा ०८० मा के गर्दै छ । यहि बिषयले पुरानादललाई रास्वपा टाउको दुखाईको कारण बनिसकेको अवस्था छ । अब पुराना दलसँग स्पष्ट एउटा मात्र बाटो छ, त्यो हो सच्चिने बाटो, नसच्चिने हो भने सक्किने अनि पतनको बाटो नै हो, हो यहिगर्दै छ रास्वपा ०८० मा ।


रास्वपाको मिशन ०८४ भन्नाले के बुझिन्छ त?


१.जान्ने, योग्य, ईमान्दारलाई मात्र छान्ने : वडा अध्यक्ष देखि पालिका अध्यक्ष, मेयर, प्रदेश अनि प्रतिनिधि सभाको सांसदसम्मको उम्मेद्वारको टिकट बिक्रीमा राख्ने अनि बढिमा आफन्त र परिवारलाई पालनपोषण गर्ने पद्धतिबाट निर्वाचित प्रतिनिधिहरुको मुख्यतः देखिएका समस्याहरु :
क) पैसाको आडमा छानिएकाहरुको अभिष्ठ, पैसा मुखीहुनु ।


ख) चाकरी, चाप्लुसी र बढीमा पार्टीगत लगानीको आधारमामात्र ब्यक्ति चुनिनुले पदिय ओझ अनुरुपको जिम्मेवारी सम्हाल्न नसक्नु र चुनिएका त्येस्ता जनप्रतिनिधि पार्टीमुखी भै कार्यकर्ता पालनपोषणमा सबै बजेट सक्नु ।

ग) कार्य योजना बनाउने क्षमता निकै दुरको बिषयभए, बनाईएको कार्य योजना पढ्ने र बुझ्ने क्षमता सम्म नभएकाहरुले पद ओगटिदिदा असक्षम ब्यक्तीको शासनमा जनताले सास्तीमात्र हैन समग्र मुलुकको “भोलि“ निराश बन्दै जानू ।
हो यहि शुन्यतालाई चिर्दै योग्य, क्षमतावान, ईमान्दार अनि बिकास र समृद्धिको बिषयलाई बुझेको नैतिकवान ब्यक्तिको पुर्ती रास्वपाले गर्ने छ ०८४ मा ।


२. पद्धतिको विकासः व्यक्ति हावी भएर गरिएका हरेक कामको नतिजा औसत खराव हुने भएकोले रास्वपाले पद्धतिलाई सुक्ष्म कार्यान्वयन गराउने, पद्धतिको पालना अटेर गर्नेलाई – RIGHT TO REJECT को सिद्धान्त अनुरुप कारबाहीको दायरामा ल्याउने । हो यहि पद्धतिको विकास र यसका कार्यान्वयनका पाटालाई ०८४ सम्ममा मुर्तरुप दिने ।


३. मुलुकका सङ्घीय संरचना बोझिलो भएकोले प्रदेशको शासकीय स्वरुप, स्थानीय तहको साईज, संसदमा समानुपातिक प्रतिनिधित्व आदिमा हेराफेरी गरेर कुल प्रशासनिक खर्चमा उल्लेख्य कटौती हुन आवश्यक छ । तर यसको लागि मौजुदा प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र समानुपातिकतर्फमा ११० गरि २७५ सिटको २÷३ सिट यानेकी १८४ सिटमा जीत हाँसिल गर्नु छ । यसैगरी प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिट र समानुपातिकतर्फ २२० सिट गरि प्रदेश सभा सदस्यहरुको हुनआउने कुल संख्या ५५० को २÷३ सिट यानेकी प्रत्येक प्रदेशमा २÷३ जिताउन अत्यन्तै ठूलो अभ्यासको खाँचो छ, यसको तैयारी नै मिसन ०८४ हो ।


४. २०८४ सालको स्थानीय निकायको निर्वाचनमा प्रत्येक वडा पालिका, गाउँपालिका, नगरपालिका देखि महानगरपालिकासम्म उपयुक्त ब्यक्तिको छनौट गरि जान्ने अनि ईमान्दार ब्यक्तिलाई स्थानीय निकायको जिम्मेवारी सुम्पिनु छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने र सरकारको अनुहार भनेकै स्थानिय निकाय भएको हुँदा प्रत्येक गाउँको आवश्यकता र विकास अनि समृद्धिका सम्भावनालाई सुक्ष्म तवरले बुझ्ने ब्यक्तिको खोजीनै मिसन ०८४ हो ।


राजनीति यस्तो खेल हो, जसमा खेलाडीको एक पटक आगमन हुन्छ । जहाँ उसलाई कार्य सम्पादन असफलता वा अक्षमताको कुनै छुट नै हुने छैन । कोहि अक्षम ब्यक्तिको कारण हजारौं, लाखौ ब्यक्तिले आफ्नो भाग्य बिगारेर सहेर बस्ने दिनको अन्त्य गर्नु छ । सभ्य मुलुकमा झै, आफ्नो गल्ती हुनासाथ पदबाट राजीनामा दिने सँस्कार बसाउनु छ, नत्र च्क्ष्न्ज्त् त्इ च्भ्व्भ्ऋत् को पद्धतिले अक्षम ब्यक्तिलाई सदाका लागि त्यो खेलबाट हटाईनेछ । हो यहि हो मिसन ०८४ ।


५. विश्वशक्ति राष्ट्र चीन र भारतको बिचमा रहेको सानो मुलुक नेपालले यी दुबै राष्ट्रहरु सँगमात्र हैन युरोपियन युनियन, विश्वशक्ति राष्ट्र अमेरिका लगायत सँगको परराष्ट्र नीति कुनै दल वा सरकार प्रमुखको सुबिधा अनुकुलको हैन नेपाल देशको सर्वोपरि हीत हुने सदैब एक नीतिको अभ्यासमा जानू पर्दछ । हो यहि कार्यान्वयन गर्ने साईत हो मिसन ०८४ ।


६. समान अवसरको प्रदान, सबैको आआफ्नो क्षमता हुन्छ भन्ने मान्यता, अनुरुप अगाडी बढ्ने अवसर प्रदान नगरुञ्जेल शिक्षाको सुप्रभाव नदेखिने र शिक्षा नै विकासको पहिलो भर्याङ भएको हुँदा, सबैलाई अनिवार्य गुणस्तरीय शिक्षाको अवसर नै हो मिसन ०८४ ।


७. आफुले खाएर फालिएको बिज उम्रीएर पुनस्च खानु पाईने अत्यन्तै मलिलो अनि उर्वर भुमी भएको कृषि प्रधान मुलुक नेपालका अधिकांंश जमिन आकाशे पानीको भरमा छन । विश्वकै दोस्रो पानीको स्रोत भएको मुलुक अनि अत्यन्तै उर्वर भुमी भैकन पनि कृषिको उचित प्राथामिकिकरण नभएकोले दैनिक एक सय करोड अधिकको खाद्यान्न आयात हुनु अत्यन्तै दुखदायी अवस्था हो हाम्रो नेपाल को । ०८४ पश्चात पहिलो पाँच बर्षमा अधिकतम यस्ता सुख्खा क्षेत्रमा सिँचाइको ब्यबस्था गरि पहिलो पाँच बर्षमै धेरै जसो खाद्यान्नमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने बन्नु र अर्को पाँच बर्षमा शतप्रतिशत आत्मनिर्भर र आयातको कम्तिमा दुगुना निर्यात गर्ने क्षमतामा पुग्ने बनाउने सुरुवाती दिन हो मिसन ०८४ ।


८. नेपाल साहसी पर्यटनको अत्यन्तै सम्भावना भएको मुलुक हो । यहि सम्भावनालाई उजागर गर्दै मौजुदा पर्यटनको ब्यापारलाई थप ब्यबस्थित गरि नेपाललाई विश्वमै एक लोभलाग्दो साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा प्रतिस्थापन गराउने सुरुवाती दिन हो मिसन ०८४ ।


९.गाउँगाउँमा स्वास्थ पहुँच नभएको कारण अनाहक अनि अकालमा ज्यान गुमाउनु परिरहेको तितो सत्य र बर्ग असमानताको कारण आर्थिक क्षमता नभएकाहरु वा अधिकतम निम्न, मध्य बर्गिय परिवारले आफ्नो जायजेथा बेचेर उपचार गरिरहनु परेको अवस्थाको अन्त्य गर्ने दिनको सुरुवात हो मिसन ०८४ ।


१०. बेचिएका उद्योग तथा कलकारखानाहरुको पुनःउत्थान गर्ने, कच्चापदार्थ र सम्भावनाको उचित मुल्यांकन गरि नयाँ उद्योगहरु संचालन गर्ने, नेपाली लगानीकर्ता प्रती भरोसा र लगानीमुखी वातावरण सृजना गर्ने र अधिकतम रोजगारी र स्वरोजगारी सृजना गर्ने साईतको दिन हो मिसन ०८४ ।

उपनिर्वाचन मार्फत डा. स्वर्णिम वाग्लेको आगमन र अत्यन्तै अध्यनशिल रास्वपाका युवा माननीयहरुको प्रतिनिधि सभामा दर्बिलो अनि तार्किक उपस्थितिले संसदको गरिमालाई बल्ल ओझिलो बनाउदै लगेको छ । राजाहाँसले दूध र पानी छुट्याएझै राम्रो र नराम्रो छुट्याउन सिपालु नेपाली जनता आफ्नो सांसदले मुलुकको हितहुने नीति निर्माण तथा कानुन बनाउन भन्ने अपेक्षारत छन भने साढे तीन दशक पुरानो मेसिनबाट निक्लिएका अधिकांश माननीय सांसदहरु अझै मेला, हाट, उद्घाटन, प्रमुखअतिथी, खदा माला, खुट्टा तान्ने पछार्ने मै ब्यस्त देखिन्छन ।

पार्टी स्थापनार्थ लागेका अधिकांश ब्यक्तिहरु समेत राजनीतिक खेलबाट केही नजिकमा मात्र रहेका तर व्यवसायिक र सामाजिक हिसाबमा उच्च दखल राख्ने समुहले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल आफ्नो स्थापनाको पाँच बर्षकै अवधीमा दोस्रो पटक संसदिय निर्वाचनमा र पहिलो पटक स्थानिय निर्वाचनमा भाग लिँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई बिद्यमान अवस्थामा ६,७४३ वडा पालिका भित्रविभिन्न समाबेशी समूह मिलाएर वडा सदस्य देखि अध्यक्ष सम्म र ७५३ वटै गाउँपालिका र नगरहरुमा पालिका अध्यक्ष, उपाध्यक्ष देखि मेयर र उपमेयर सम्मका विभिन्न पदाधिकारीहरुलाई एक काबिल उम्मेद्वारको रुपमा तैयारी गराउनु छ ।


पुरानादलहरुको कामबाट आजित भएका आम नेपाली सर्वसाधारणहरु राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो उम्मेद्वार प्रस्तुत गर्छ ?भन्ने बिषयमा अत्यन्तै उत्सुक छन । हो यहि कौतुहलता मेटाउन मात्र हैन भोलि जिम्मेवारी सम्हालिसके पश्चात उत्कृष्ट लयमा जनचाहना अनुरुप काम गर्न सक्ने, जान्ने, अनुभवी र ईमान्दार ब्यक्तिलाई उम्मेद्वारको रुपमा प्रस्तुत गराउनु छ । स्थानीय चुनावको अंकगणितले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई समेत प्रभाव पार्ने भएकोले, रास्वपाको प्रथम चुनावी दायित्व स्थानीय निर्वाचन नै हुने प्रष्ट छ ।

स्थानीय निर्वाचनलाई आफ्नो पक्षमा राख्न, हरेक गाउँमा आफ्नो सङ्गठन बिस्तारको काममा रास्वपाको केन्द्र, प्रदेश, जिल्ला र तत् तत् पालिकाका कमिटी पदाधिकारीहरु लागि परेर काम गरिरहेका छन । हरेक वडा, पालिका, जिल्ला, प्रदेशको सम्भावनालाई अध्यन गरि पालिकाको नियमित बजेटको अलावा छोटो अवधिका योजना, मध्यम अवधिका योजना र दीर्घकालीन योजनाहरु तैयार गरि केन्द्रिय योजनामा पारेर पारदर्शी तवरले कार्यान्वयन गराउने पद्धतिको विकासमा रास्वपा जुटि सकेको छ । आवश्यकता र प्रतिफलको हिसाबले उच्च कोटिका योजना कार्यान्वयन गर्न गराउन नेताको चाकरी गरिरहन नपर्ने र रास्वपा स्वयंले प्रत्येक पालिका स्तरमै सम्भावनाको खोजी गर्ने संयन्त्रको तैयारी नै मिसन ०८४ हो ।


हरेक बिषयलाई एकद्वार प्रणालीमा ढालेर एउटा बिषयलाई पटकपटक स्वीकृति लिन नपर्ने र पारदर्शी तवरले आफ्नो सम्पुर्ण काम सम्पन्न गर्न सकिने व्यवस्थापनको सुरुवात गर्ने साईतको दिन हो मिसन ०८४ । मुलुकका उद्योगहरु प्राय धारासायी बनिसकेका छन्, कृषि प्रधान मुलुक भएतापनी पुर्ण आयातमा निर्भर बनिसकेको छ मुलुक, उच्च शिक्षा पश्चात उचित रोजगारी नभएकोले अधिकांश युवाहरु बिदेश पलायन हुँदैछन्, रोजगारीको लागि प्राय युवा विदेशीन बाध्य हुनुपरेको अवस्था छ, यी यावत मुख्य समस्यामा नै सरकारको जवाफदेहिता शून्यभ एको कारण मौलाईरहेको बेथिती र भ्रष्टाचार उन्मुलन नै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख कार्य हुने र ०८४ अगाडी सम्म प्रतिपक्षी दलको रुपमा रहि सरकारको काम कारवाहीलाई ३६० डिग्रीबाट नियालेर सरकारलाई खवरदारी गर्ने कार्यको मुख्य दायित्व रास्वपा कै हुनेछ ।


प्रजातन्त्र बहाली पश्चात, २०४८ सालको पहिलो आम निर्वाचन र प्रजातन्त्रको बहालीका लागी नेपाली काँग्रेस र बिभिन्न कम्युनिष्ट घटकहरुको स्थापनाकाल देखी आफ्ना पितापुर्खाहरुको लगानीको भावना भन्दा राजनीतिको मुख्य सार मुलुकको बिकास र जनताको समृद्धि हो भन्ने बुझ्न अत्यन्तै जरुरी भैसकेको छ । उ बेला राणा शासनको बिरुद्ध होस या पंचायतको, ति निरंकुश थिए, त्यसको बिरोध गरि लोकतन्त्र सम्मको स्थापना गरिरहँदा पक्कै पनि मुलुकका निरिह जनताका कल्कलाउदो उमेरका छोराहरुले मुलुकमा रोजगारी नपाएर बिदेशमा काम गर्न जानपाँउ भनि याचना गर्दा आन्दोलन नै गर्नु पर्ने र आन्दोलन निस्तेज गर्ने बिभिन्न उपायहरु हुदाँहुदै सिधै गोलीप्रहार गरि हत्या हुनुले हामीले ल्याएको लोकतन्त्र कता जादै छ ? के यसैका लागी हाम्रा पितापुर्खाले सहादत प्राप्त गरेका हुन् ? आफैमा बिबादास्पद रहे पनि, लोकतन्त्रको बिकल्प केवल लोकतन्त्र मात्र रहेको र अव निसर्त नयाँ अनि युवाशक्तिलाई एक पटक विश्वास (सके भौतिक, नसके नैतिक समर्थन) गर्ने दिन आईपुगेको छ ।

लेखक ई. वीरेन्द्र श्रेष्ठ, २०५३ सालमा सोभियत संघमा आफ्नो ईन्जिनियरिङको अध्ययन सके लगत्तै देखि नेपालमा आई जलबिद्युतको बिकास निर्माणमा कार्यरत छन् । लोकपप् बिधाका गीतका पारखी श्रेष्ठका घर हाम्रो लेकैमा,जाले रुमाल, आउन माया, ताप्लेजुङको शिरैमा लगायतका दर्जनौ गीतमा आफ्नो स्वर दिईसकेका छन । समाजका बेथिती र बिशेषत ताप्लेजुङको बिकासका बिषयमा कलम चलाई रहन्छन् । केहि समय देखि रास्वपाको सक्रिय राजनीतिमा देखिएका उनि पार्टीको कोशीप्रदेश कमिटी सदस्य समेत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्