संकटकाल लम्ब्याउन माल्दिभ्सका राष्ट्रपतिको आह्वान प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १६:२१ एजेन्सी– मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन् । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन् । मालदिभ्समा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वोच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दियो । उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने भएको थियो । तर राष्ट्रपति अब्दुल्लाह यामिनले उनीहरुलाई रिहा गर्न नचाहेकाले यहाँ अदालत, संसद् र सरकारबीच विवाद उत्पन्न भएको हो । अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीलाई रिहा गर्नुपर्ने भएपछि उनी त्यो निर्णयसँग डराए र सर्वोच्च अदालतको आदेशको कार्यान्वयन नगर्न आदेश दिनुको साथै प्रधानन्यायाधीशलाई नै पक्राउ गरे । मालदिभ्स्मा उत्पन्न राजनीतिक संकटका कारण यहाँ हाल सैनिक परिचालन गरिएको छ । संकटकालीन अवस्थाको घोषणा सोमबार सकिने बताइएको थियो । सोमबार नै राष्ट्रपतिले उक्त संकटकालीन अवस्थालाई लम्ब्याउन आग्रह गरेका हुन् । राष्ट्रपतिले आफूमाथि संसद्मा महाभियोग लाग्न सक्ने त्रास जीवितै रहेको अवस्था देखेकाले त्यहाँ संकटकालको घोषणा गरेका हुन् ।