टर्कीद्वारा सिरिया सरकारलाई चेतावनी

टर्कीले कुर्द लडाकुहरुलाई नसघाउन सिरिया सरकारलाई चेतावनी दिएको छ।

सिरियाका सरकारी सन्चारमाध्यमहरुले सरकार समर्थित मिलिसियाहरु अबको केहीघन्टाभित्रै देशको उत्तरमा कुर्दहरुको नियन्त्रणमा रहेको आफ्रिन इलाकामा प्रवेश गर्नलागेको जनाएपछि टर्की सरकारको त्यस्तो चेतावनी आएको हो।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुले उनको मुलुकका सैन्यलाई कसैले पनि रोक्न नसक्ने बताए।

सीमामा हमला नगर्न टर्कीलाई सिरियाको चेतावनी

किन टर्कीका सेना सिरिया पसे?

चेतावनी

उनले सिरियाली सैन्यले कुर्द लडाकुहरुलाई सघाए पनि आफ्ना सैन्यले कुर्दहरु विरुद्धको कारवाही जारी राख्‍ने चेतावनी पनि दिए।

टर्कीबाट भैरहेको अतिक्रमण रोक्न कुर्द लडाकुहरुलाई सघाउन सिरिया सहमत भएको भन्ने बताइँदै गर्दा टर्कीको त्यस्तो भनाइ आएको हो।

यसअघि सिरियास्थित कुर्द अधिकारीहरुले टर्कीको सैनिक अतिक्रमणसंग जुध्न सिरिया सरकारले उनीहरुलाई मदत गर्न लागेको बताएका थिए।

टर्कीले आफ्नो सीमा पारी आफ्रिन इलाकामा रहेका कुर्द लडाकुहरुलाई आतंककारी भन्ने गर्दछ।

उसले उनीहरुलाई त्यहाँबाट धपाउन गत महिना आफ्ना सैनिकहरुलाई सिरियाली भूभागमै पठाएको थियो।

पस्थिति

सिरियाली सैनिकहरु सन् दुईहजार बाह्रमा त्यसक्षेत्रबाट फर्केपछि उनीहरुको त्यहाँ उपस्थिति थिएन।

रोयटर्स समाचारसंस्था संग कुरा गर्दै एक वरिष्ठ कुर्द अधिकारी बदरान जियाले सिरियाली सैन्य केही सीमावर्ती स्थानमा तैनाथ गरिने बताए।

तर सिरियाली अधिकारीहरुले यसको पुष्टि गरेका छैनन्।

सिरियाली समाचार संस्था सानाले आफ्रिन क्षेत्रका जनतामाथि टर्कीले गरेको हमला विरुद्ध उसका जनताको प्रतिरोधलाई सघाउन सरकारी सैन्य केही घन्टाभित्रै त्यहाँ पुग्ने जनाएको थियो।

बीबीसी विश्व सेवाका मध्यपूर्व सम्पादक एलान जोन्स्टन भन्छन्, यदि त्यस्तो कुनै सहमति भएको भए आफ्रिनमा टर्कीका सैन्य कुर्द लडाकुहरुमात्रै हैन, सिरियाली सैन्यसंग आमने सामने हुनेछन्।

कुर्दिश डेमोक्याटिक युनियन पार्टी र उसको सशस्त्र इकाई वाइपिजीले गएको ६ वर्षदेखि उत्तरी सिरियामा पकड जमाएका छन्।

उनीहरुले इस्लामिक स्टेट लडाकुहरुलाई धपाएर उत्तरी सिरियाका ठूलो भूभागमा आफ्नो नियन्त्रणमा ल्याएका थिए।

टर्की चाहिं वाइपिजीलाई आफ्रिनबाट धपाउन चाहन्छ।

माग

टर्कीले सिरियास्थित कुर्द सैन्यलाई नसघाउन संयुक्त राज्य अमेरिकासंग माग गर्दै आएको छ।

यस अघि कुर्द लडाकुहरु र सिरियाली सैन्यबीच फाटफुट झडपहरु भएता पनि उनीहरुबीच प्रत्यक्ष युद्ध भने भएको छैन।

टर्कीले सिरिया सरकारविरुद्ध लडिरहेका विद्रोहीहरुलाई सघाउँदै आएको छ।

सिरियाले सन् २०१२ मा टर्कीको एउटा लडाकु विमानलाई क्षेप्यास्त्र प्रहार गरी झारीदिएको थियो।

सो घटनामा उक्त विमानमा रहेका दुईजनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस्