प्रदेशसभा नियमावली पारित

बुटवल, ४ चैत । प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ ।

आज दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभूजा पाठक, भोजप्रसाद श्रेष्ठ, तुलाराम घर्तीमगर र सन्तोष पाण्डेले आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले अब प्रदेशसभामा कानुन निर्माणको प्रक्रिया शुरु भएकाले जनचाहनाअनुसार अघि बढ्ने बताउनुभयो ।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकमा प्रस्तुत विधेयकउपर सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले प्रस्तुत विधेयक निकै व्यवस्थित ढंगले आएको र यसले ५ नं प्रदेशको विकासलाई अघि बढाउन आधार तयार भएको बताउनुभयो ।

उहाँले यस प्रदेशको विकासका लागि सत्ता पक्ष विपक्षीको सोचले भन्दा पनि विकासका लागि सबै एकताको सुत्रमा बाँधिएर जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै विपक्षी दल नेपाली काँग्रेसका प्रदेश सदस्य डिल्लीप्रसाद चौधरीले विधेयक पुँजीगत खर्च समयमै हुने र योजना समयमै सम्पन्न हुने गरी आउनुपर्नेमा जोड दिँदै आर्थिक पारदर्शीता बनाउन विधेयकमा गम्भीर छलफल हुनु जरुरी रहेकामा जोड दिनुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस्