उपराष्ट्रपतिद्वारा पदभार ग्रहण

काठमाडौँ, ५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो । उपराष्ट्रपतिको कार्यालयमा उहाँलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गर्नुभएको थियो । पदभार ग्रहणपछि उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको उल्लेख गर्दै आगामी दशक आर्थिक समृद्धिको दशक हुने भएकाले यसका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

 

“सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ, राजनीतिक स्थायित्व शुरु भएको छ, अब समृद्धिको बाटो हो”–उहाँले भन्नुभयो, “देशको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघ संस्था एकताबद्ध हुनुपर्छ, आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।” उपराष्ट्रपति पुनले आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै राजनीतिक पार्टी र सबै तहका सांसदलाई धन्यवाद दिनुभयो । “विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, सांसदलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु”, उहाँले भन्नुभयो ।

 

उपराष्ट्रपति पुनले आफ्नो आगामी कार्यकाल र जीवन देश र जनताका लागि हुने बताउँदै “मेरो आगामी कार्यकाल मात्रै होइन, मेरो आगामी जीवन देश र जनताकै लागि हुनेछ” भन्नुभयो । “संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढिकरणका लागि आफ्नो आगामी जीवन समर्पित हुनेछ,” उहाँले भन्नुभयो ।उपराष्ट्रपति पुनले विगतको कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो । पुन आइतबार मात्रै उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुनु भएको हो । रासस


प्रतिक्रिया दिनुहोस्