प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल

बुटवल । प्रदेश नं ५ को नेपाली काँग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन भएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए । आज अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका पोखरेलको नाममा सहमति जुटेपछि उनी संसदीय दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका लागि यसअघि पोखरेलसँगै पाल्पा काँग्रेसका सभापति वीरबहादुर राना, कपिलवस्तुका वीरेन्द्र कनौडिया, रुपन्देहीका फकरुद्दीन खाँ र दाङका डिल्लीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका थिए । संसदीय दलको नेता चयनपछि उनले सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन की विरोध गर्ने भन्ने तय हुने बताए ।


प्रतिक्रिया दिनुहोस्