कविता

                        – रसिक किरात

 

 

यसरी खस्यो कि विमानमानौँ,

त्यो कुनै भयंकर बम थियो
उही विमानबाट निस्केको
आगोको मुस्लो र धुवाँको कालो बादल
आफन्त जनका आँखाबाट
नायगरा फल्सको फोहरा बनी
ह्वारह्वार्ती बर्सिन थाल्यो

यस्तो ठाउँमा खस्यौ कि विमान
मानौँ, त्यो कुनै विमानस्थल नभई
विपक्षि सेनाद्वारा नियन्त्रित बंकरकाे निशाना थियो
साटिन आतुर खुसीहरू
एकाएक चीत्कारका तिखा तिर बनी
टाढा–टाढा फयाँकिन थाले
रोदनका निरीह गलाहरू
हुने हुनामीमय क्रूर पञ्जाको
सिकार बनी ङ्याकिन थाले

यसरी फुट्यो कि आँसुको ताल
मानौँ, त्यो कुनै समुद्रिक गहिराइमा विस्फाेटित
महाभुकम्पकाे विस्फोटन थियाे
अचानक नशा–नशामा
वेदनाको सुनामी हुइँकिन थाल्यो
उक्त सुनामी दृढ प्रश्नको
पहाड भई एक्कासी भक्कानियो–
‘हवाई व्यवस्थापनमा मात्र हामीले
ब्ल्याक लिष्टको योग्यता
हासिल गरेका हौँ कि अर्थात्
कैयन् यस्ता अन्य क्षेत्रमा पनि ???’
यही जिज्ञासामा ठोकिएर
टनटनी सुनिएको मेरो मन
सहन नसकिने घाउ भएर बल्झिन्छ
जब घट्नास्थलमा देखिएको
एक आमाको हृदयविदारक तस्बिर
स्मृतिपटलमा झलझली अल्झिन्छ

नियतिले खाक बनाएको
मृत्युको थास अघि तीनै आमा
एउटा मृत शरीरलाई उल्टाइ पल्टाइ गर्दै
भावविह्वल शोकमा बर्बराउँदै थिइन् –
“डाक्टर बनेपछि त
बोल्नै छोड्यौ होइन छोरा ?
तिमी किन बोल्दैनौ
केही त बोल न छोरा !
किन केही भन्दैनौ
केही त भन न छोरा !!
मलाई छोडेर कहाँ गयौ ?
म तिम्रो आमा हुँ
मसँग कुरा गर न छोरा !!!”


प्रतिक्रिया दिनुहोस्