अमेरिकाबाट नेपाली गजल गायनमा नौलो प्रयास


काठमाडौं । अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयाँ प्रयोग भएको छ । एउटै गजलमा ८ फरक गजलकारहरुको एक एक शेर समावेश गरेर तयार गरिएको सांगीतिक गजल “तिमीलाई हेर्दाहेर्दै” अमेरिकाको समय अनुसार शुक्रवार साँझ (मार्च ३ २०२३) गजलयात्राको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको रहेको छ भने सो गजलको एरेन्ज जुगल डंगोलले गरेका छन् ।

गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन् ।


“हामी सधैं नयॉं केहि गरौं भनेर लागिरहेका हुन्छौं, त्यहि क्रममा यो काम गरिएको हो ।’ गजलयात्राका संस्थापक संयोजक गजलकार पवन लामिछानेले भने “कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरु यौटा शेर लेख्दै बॉंकी शेर थपेर गजल पुरा गरौं भनेर फÞेसबुक समुहमा पालैपालो राख्थ्यौं र एउटा गजल पुरा गर्थ्यौं ।


त्यहि बिचमा एक एक शेर गजल वाचन गरिएको भिडियोहरु बनाएर अपलोड गर्यौं । पछि सबैको सल्लाहमा एउटा साँगीतिक गजल नै तयार गर्ने योजना बन्यो । मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिल्कुलै नयाँ प्रयोग हो । गजलको क्षेत्रमा भैरहेको गुटबन्दि र आरोप पत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौं ।” लामिछानेले भने ।


“आठ गजलकारहरुको साथमा एकै पटक काम गर्न पाउँदा उत्साहित छु”, गायक एवं संगीतकार केशव पौडेलले भने ।
सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार लामिछानेले तयार गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्