घुससहित अख्तियारले रंगेहात पक्राउ गरेका व्यक्तिलाई अदालतबाट सफाइ

काठमाडौं, ८ चैत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ८० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेका व्यक्तिलाई विशेष अदालतले सफाइ दिएको छ । यातायात व्यवस्था विभागका निलम्बित प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विशेष अदालतले सफाइ दिएको हो । नेपालगन्ज नाका हुँदै बिधुतिय स्कुटर ल्याउन लागेको एक कम्पनीसँगलाई सिफारिस पत्र दिन १ लाख ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

अख्तियारको टोलीले १६ पुस २०७२ मा पोखरेलाई काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयबाटै घुससहित पक्राउ गरेको थियो । नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएका ३६ थान विद्युतीय स्कुटरका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका अख्तियारको भनाइ थियो । अख्तियारको टोलीले पक्राउ गर्दा पोखरेलले १ लाख ८० हजार रुपैयाँ कार्यालयको सोफामै फालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारी बताउँछन् ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी र चण्डीराज ढकालको संयुक्त इजालशले भने पोखरेलले घुस लिएको विषयमा अख्तियारले प्रमाण जुटाउन नसकेको भन्दै उनलाई सफाइ दिएको छ । पोखरेलले प्रतिस्कुटर ५ हजार रुपैयाँ घुस मागेको भन्दै उनीविरुद्ध ०३ फागुन २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले मुद्दा दर्ता भएयता १२ पटकको सुनुवाई पछि बिहीवार पोखरेललाई सफाइ दिने फैसला सुनाएको हो ।


प्रतिक्रिया दिनुहोस्