मोबाइलको आईएमईआई दर्ता अब अनलाइनबाटै

काठमाडौँ, २९ माघ- मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्यमा मोबाइल प्रयोग निरुत्साहित गर्ने र हराएको अवस्थामा प्रहरीलाइ खोज्न सहयोग पुर्याउने उद्देश्यले प्राधिकरणले गत वर्षदेखि आइएमईआई दर्ता सुरु गरेको हो । अव यो दर्तासम्बन्धी व्यवस्थालाई थप सरलीकृत गर्दै अनलाइनबाटै व्यक्ति वा संस्थाले घरमै बसेर दर्ता गर्न सकिने बनाइएको छ ।

आईएमईआई नम्बर हरेक सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइल एउटा र दुईवटा मोबाइल लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले व्यक्तिगत वा संस्थागत रूपमा दर्ता गर्न सकिने जानकारी दिए । आईएमईआई नम्बर दर्ता भएपछि ‘ग्रे मार्केट’ नियन्त्रण हुने र हराएको अवस्थामा पनि प्रहरीलाइ खवर गर्न र भेट्न सजिलो हुने उनको भनाइ थियो । हालसम्म प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर कार्यालयबाटमात्र दर्ता गर्दै आएको छ । आफ्नो मोबाइलमा रहेको आइएमईआई नम्बर थाहा पाउनका लागि ‘एस्ट्रिक ह्यास शून्य छ र ह्यास’ डायल गर्नुपर्छ, कारोबार दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्