बसको ठक्करको बिषयलाई लिएर पृथ्वी राजमार्गमा तनाव

११ चैत, काठमाडौं । धादिङको धुनिबेसीमा बसको ठक्करबाट एक गम्भीर घाइते भएपछि तनाव भएको छ । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ९०४२ नम्बरको बसको ठक्करबाट धादिङ धुनिवेसी–८ का खुजुबहादुर भुजेल गम्भीर घाइते भएपछि त्यहाँ तनाव भएको हो ।

बसको लापरबाहीले गर्दा घटना भएको भन्दै स्थानीय सडकमा उत्रिएपछि पृथ्वी राजमार्गको सवारी आवागमन अहिले अबरुद्ध भएको छ । आवागमन रोकिएपछि सवारीको लामो लाइन लागेको छ । धादिङ प्रहरीले बसको ठक्करबाट १ जना घाइते भएको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि पृथ्वी राजमार्गको आवागमन प्रभावित भएको जानकारी दिएको छ । प्रहरीका अनुसार अहिले दुवै पक्षलाई राखेर विवाद मिलाउने प्रयास भइरहेको छ ।बसको ठक्करबाट गम्भीर घाइते भुजेललाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्