काठमाडौंस्थित सबै विदेशी राजदूतलाई बालुवाटार बोलाइयो: प्रधानमन्त्रीले वामपन्थी सरकारको नीतिबारे ‘ब्रिफिङ’ गर्दै

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।

 

कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने ब्रिफिङमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने बताइएको छ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्