आर्चरीमा नेपालले जित्यो कास्य पदक

काठमाण्डौ / बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक हात पारेको छ । ढाकास्थित विकेएसपी कम्पाउन्डभित्र भएको खेलमा मिक्सतर्फ नेपालका तीलक पुन मगर र ज्ञानु अवालेको टोलीले श्रीलंकालाई पराजित गर्दै कास्य पदक हात पारेको हो । दुवै टोलीले दुई दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ५–४ ले विजयी भएको हो । यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि कास्य पदकका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

यसैबीच आजै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टोलीले पनि कास्यपदक हात पारेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजीतकुमार अग्रवाल र अभिषेक राज प्रधानको टोलीले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै कास्य जितेको हो । यस्तै नेपालको रिकर्भ पुरुष टोली भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुवै टोलीले दुई÷दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ४–५ अंकले श्रीलंकासँग पराजित भएको हो । त्यसअघि भएको एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउँदै ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंका प्रतिद्वन्द्वी पाए पनि नेपालले खेल जित्न सकेन ।

नेपालको रिकर्भ पुरुष टोलीमा प्रेमप्रसाद पुन, तीलक पुन र मीनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । रिकर्भ महिला टोली पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टोली श्रीलंकासँग १–३ को सेटमा २–६ अंकले पराजित भए । त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टोली बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्