पुषे मेला स्वर्ण महोत्सव २०८० : भलिबल प्रतियोगितामा मुकेश मेमोरियल ताप्लेजुङ र पाथिभरा टाइगर फाइनलमा प्रवेश 

साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सव २०८० मा जारी अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको हो ।

पाथीभरा टाइगर क्लब दमकले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ ले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको छ । यस्तै आज भएको दोस्रो सेमिफाइनल खेलमा सभापोखरी भलिबल क्लब संखुवासभालाई सोझो सेटमा पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाइनलमा प्रवेश गरेको छ ।

मुकेश मेमोरियल क्लब ताप्लेजुङले संखुवासभालाई २५–२१,२५–१९,२६–२४ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापासँगको फाइनलमा भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्