एकैदिन नेप्सेमा ५२ अंकले गिरावट

काठमाडौं, १३ चैत- साताको दोस्रो दिन सोमबार शेयर बजार परिसुचक नेप्से ५१ दशमलव ८९ अंकले घटेको छ । नयाँ सरकारको अर्थनीतिको पर्खाइमा रहेका लगानीकर्ताहरु अर्थमन्त्रीका असामान्य अभिब्यक्तिले समेत तर्सिदा बजार निरन्तर ओह्रालो लागेको छ । सोमबार नेप्सेमा साढे ४ प्रतिशतले गिरावट आएको छ । तर कारोबार रकम भने बढेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बोलेका ’शेयर बजार घट्नै नहुने हो र?’ भन्ने अभिब्यक्ति सावैजनिक भएसँगै शेयर बजार सुचक नेप्से सोमबार एकैदिन ११६५ दशमलव ५५ अंकमा झरेर रोकिएको छ । डा. खतिवडा अर्थमन्त्री भएपछि शेयर बजार १९० अंकले बजार घटिसकेको छ । उनी फागुन १४ गते मन्त्री भएका थिए। उनी मन्त्री नियुक्त भएकै दिन पनि बजार २८ अंकले झरेको थियो । केपी ओली प्रधानमन्त्री भएयता बजार २८७ अंकले झरिसकेको छ ।
सोमबार बजार खुलेको ४० मिनेटमै सुचक ३ प्रतिशतले झरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार १५ मिनेटलाई स्थगित गरिएको थियो ।

फेरि खुलेको बजारमा घट्ने क्रम केही कम देखिएपनि पछि फेरि घट्न थालेको थियो । सोमबार सबै उपसुचकहरु घटेका छन् । दिनभरीमा १५७ कम्पनीको ४७ करोड ३३ लाख ९५ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
सबैभन्दा बढि बीमा २८४ अंकले झरेको छ । बैंकिङ पनि ४२ अंकले झरेको छ । कम घटेको फाइनान्स सुचक मात्र हो । यो सुचक पौने पाँच अंकले झरेको छ ।

स्रोत लोकान्तर खबर


प्रतिक्रिया दिनुहोस्