भिरमा लगाएको आगो फैलिदा ताप्लेजुङमा एक घर जलेर नष्टः लाखौँको क्षति

ताप्लेजुङ, १४ चैत्र / सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा ताप्लेजुङ स्थित फुङलिङ नगरपालिका–१० फुरुम्बुमा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीय चन्द्र बहादुर कार्कीको घर जलेर पुर्णरुपमा नष्ट भएको हो । मंगलबार दिउँसो करिव ३ बजे तिर घरमा आगलागी भएको थियो । करिव २ सय मिटर मुनी रहेको सोगिरा भन्ने भिरमा स्थानीयले लगाएको आगोको झिल्का फैलिएर घरको छानामा आए पछि घरमा आगलागी भएको पिडित परिवारकि आफन्त मनकुमारी कार्कीले बताउनुभएको छ ।

आगलागीले तीन तले टिनको छानो भएको घर र घर भित्र राखिएकोे ठुलो परिमाणको काठ, अन्नपात, लत्ताकपडा लगायतका सामाग्री जल्दा करिव १२ लाख मुल्य बरावरको क्षति भएको स्थानीयको अनुमान छ । आगालागी पिडित परिवार भने अर्कै घरमा सरेर बसेका छन् भने आगलागीले मानविय क्षति भने भएको छैन् । आगलागी पछि स्थानीयले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएको बताईएको छ । भिरमा आगो लगाउने स्थानीयले भने जानजान नभएको भन्दै क्षति बेहोर्ने बचन दिएको पिडित परिवारले बताएका छन् । पछिल्लो तीन महिनामा मात्रै ताप्लेजुङमा दर्जनौ घरहरु जलेर नष्ट भएका छन् ।

–पदम श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्