स्मिथ र वार्नरलाई क्रिकेटबाट प्रतिबन्ध

जोहानसबर्ग, १५ चैत्र  / अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टेभेन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट १ वर्षको प्रतिबन्ध जारी गरिएको छ । दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बलको अवस्था जानीजानी परिवर्तन गरेको आरोपमा दोषी पाइएका स्मिथ र वार्नर प्रतिबन्धित भएका हुन् ।

स्मिथ र वार्नरसहित ब्याट्सम्यान बेन ब्यान्क्रफ्ट पनि ९ महिनाका लागि प्रतिबन्धित भएका छन् । वार्नर र स्मिथको सल्लाहमा ब्यान्क्रफ्टले पहेंलो कागज प्रयोग गरी बलको ‘सिम’ उतार्न खोजेका थिए । भिडियोमा सो गतिविधि प्रत्यक्ष देखिएपछि ब्यान्क्रफ्टले यो कागज आफ्नो सुरुवालभित्र लुकाएका थिए । शुक्रबार चौथो टेष्ट सुरु हुनु अघि यी तीनै खेलाडीलाई अष्ट्रेलिया पठाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्रीले पनि यो घटनाले आफू दुखित तथा निराश भएको बताए ।

स्मिथले २ वर्षसम्म टोलीको कप्तानी गर्न पाउने छैनन् भने वार्नरलाई कप्तानको भूमिकाबाट आजीवन प्रतिबन्ध लगाइएको छ । प्रशिक्षक डेरेन लेह्मन भने यस घटनामा संलग्न नभएको पाइएपछि उनले आफ्नो स्थान यथावत् राखेका छन् । यी तीनै खेलाडीले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा संलग्न हुन पाउने छैनन् । त्यस अर्थात् स्मिथ र वार्नरले आउने इन्डियन प्रिमियर लिग पनि गुमाउने छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्