प्रकाण्डको घरमा वारेन्ट पूर्जी टाँस्न गएका सरकारी टोली यसरी लखेटिए सहयोद्दा बादल र प्रकाण्ड आमनेसामने

काठमाडौं, १५ चैत । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट पूर्जी टाँस्न पुगेको सरकारी टोलीलाई स्थानीयले प्रतिवाद गरेर लखेटेका छन् । कालिकोट जिल्लाको माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहीबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट सरकारी कर्मचारीसहित प्रहरीको एक टोली पुगेको थियो ।टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँस्न खोज्दादेखि नै घरपरिवार र स्थानीयसँग विवाद भएको थियो । अन्तिमसम्मा प्रहरीले जबर्जस्त गरेको भन्दै स्थानीय र घरपरिवारले प्रतिवाद गरेपछि पूर्जी नटाँसिकनै टोली फिर्ता भएको छ । विवाद झण्डै डेढ घण्टा चलेको बताइएको छ ।

परिवार स्रोतले दिएको जानकारी अनुसार टोली भोजपुर जिल्ला अदालतबाट गत पौष महिनामा भएको आदेशबमोजिम पक्राउ पूर्जी टाँस्न प्रहरीको टोली आएको हो । एकीकृत जनक्रान्तिको नीतिअनुरुप प्रतिवाद गरिएको प्रतिवादमा सहभागीहरुले बताएका छन् ।ओली सरकारले नेकपाका कार्यकर्तादेखि उच्च नेतहरुलाई निगरानीमा राख्ने र गिरफ्तार गर्ने कार्यलाई निरन्तर दिँदै आइरहेको छ । अझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाका गतिविधि र शक्तिबारे सुरक्षा निकायसँग तीन दिने रिपोर्ट माग गरेको केही दिन नबित्दै पूर्वमन्त्री समेत रहेका प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसको प्रयास भएको हो ।

यसैबीच हिजो मात्र नेकपाले पनि प्रधानमन्त्री र केपी शर्मा ओली र माकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रघात र जनघात गरेको विषय खुलाएर जवाफ दिनका लागि पन्ध्र दिनभित्र ‘जनअदालत’मा उपस्थित हुन ओलीको झापास्थित घर र प्रचण्डको चितवनको भरतपुर महानगरपालिक–१४ स्थित घरमा वारेन्ट पूर्जी टाँसेको छ । जसबारे दुवै नेताले अहिलेसम्म कुनै प्रतिक्रया दिएका छैनन् ।नेकपा र सरकार दुवै पक्ष एकले अर्काविरुद्ध दोहोर पूर्जी टाँस्ने कदमले राजनीतिक रुपमा नयाँ तरंग ल्याइदिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्