सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुबिधामा जनतालाई हैरानी

 गोरखा १५ चैत। गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारका स्थानियबासीहरुले बिभिन्न सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुबिधामा जनताले हैरानी खेप्नु परेको बताएका छन् । गोरखा नगरपालिका गोरखा, नेपाल पत्रकार महासंघ गोरखा, युएस एआइडी, सोच नेपाल र एफं एच आइ ३६० को आयोजनामा छेपेटारमा आयोजित पारस्पारिक जबाफदेहिता कार्यक्रममा बोल्दै स्थानियबासीहरुले यस्तो बताएका हुन् । उनीहरुले जिल्ला मालपोत कार्यालय, नापी कार्यालयबाट हुने सेवा प्रवाहका नागरिकहरुले हैरानी खेप्नु परेको गुनासो समेत गरेका छन् ।

त्यस्तै भुकम्प पिडितहरुले अनुदान बापतको रकम लिन बैंकमा पुग्दा समेत झन्झट खेप्नु परेको भन्दै गुनासो गरेका छन् । त्यस्तै कच्ची सडकको मर्मत नहुदा सडक वरपर धुलोधुवा लगायतका समस्या बढि भएको, स्थानिय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्धनमा समस्या भएको भन्दै नगरपालिकाका प्रमुख एवं प्रतिनिधिहरुलाई गुनासो गरेका हुन् । सहभागीहरुले छेपेटारमा अहिले सम्म पनि ल्याण्डलाईन टेलिफोन सेवा शुरु हुन नसकेको, इमेल इन्टरनेटको पहुच नगरबासीमा पुग्न नसकेको भन्दै नगर प्रमुख संग प्रश्न गरेका थिए । कार्यक्रममा सहभागीहरुको गुनासो सुन्दै पछि बोल्दै गोरखा नगरपालिका गोरखाका मेयर राजनराज पन्तले नगरपालिकाका कर्मचारीहरुले सेवा प्रवाहका क्रममा अनाबश्यक दुःख दिने गरेको पाइयो आफुले तत्काल कारवाही गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “तपाईहरुलाई काम गर्दा पैसा माग्ने, अनाबश्यक दुःख दिने गरेको भए सिधै मलाई जानकारी गराउनुहोस म तत्काल कारवाही गर्छु तर बाहिर अनावश्यक हल्ला गरेर हिड्नु राम्रो हुदैन”। नगरप्रमुख पन्तले नगर क्षेत्र भित्र उत्पादन हुने बस्तुको बजार व्यवस्थापनका लागि निजि क्षेत्र संग सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भईरहेको जानकारी दिनुभयो । उहाँले छेपेटारमा सुरक्षा व्यस्वस्था मिलाउन प्रहरी चौकीको स्थापनाका लागि समेत जिल्ला प्रहरी कार्यालयसंग छलफल अगाडी बढेको भन्दै अब छिट्टै चौकी स्थापना हुने बिश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पन्तले गोरखा नगरपालिकाले गत आर्थिक बर्षको तुलनामा आन्तरिक आयमा सन्तोष जनक प्रगती हासिल गरेको बताउदै सहभागीहरुलाई नगरपालिकाले चालु आर्थिक बर्षमा गरेका कार्यप्रगती बारे जानकारी समेत गराउनु भएको थियो । उहाँले नगरपालिका भित्रका सडकहरुको स्तरोन्नतीका लागि आफुले प्राथामिकतामा राखेको भन्दै बिस्तारै गोरखा नगरपालिकालाई नमुना नगरपालिका बनाउन लागि परेको दावी गर्नुभयो । कार्यक्रममा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठ, बिभिन्न वडाका वडाध्यक्षहरु, गोरखा नगरपालिकाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्