पर्यटकलाई आकर्षण गर्न वेबसाइट बनाइने। मन्त्री: रवीन्द्र अधिकारी

काठमाडौँ, १५ । चैत सरकारले छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रचारात्मक अभियानलाई तीव्रता दिने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो समय दुई छिमेकी मुलुकबाट ठूलो संख्यामा पर्यटक आउन थालेकाले उनीहरुबीचको सञ्चार सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागिएको जानकारी दिनुभयो ।आज मन्त्रालयमा विभिन्न सञ्चार माध्यममा आवद्ध पर्यटन पत्रकारसँगको छलफलमा उहाँले पर्यटकलाई आकर्षण गर्न दुई छिमेकी मुलुकको वेबसाइट बनाइने तयारी गरिएको बताउनुभयो ।

मन्त्री अधिकारीले सरकारले आगामी सन् २०२० भित्र नेपालमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा छिमेकी मुलुकका पर्यटकलाई सहयोगी वेबसाइटले थप पर्यटक आकर्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले प्रचूर सम्भावनाकाबीच पनि नेपालले उचित पर्यटन प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न नसकेको सन्दर्भ उल्लेख अन्तर्राष्ट्रिय बजारीकरणलाई प्रभावकारी बनाइने बताउनुभयो ।मन्त्री अधिकारीले पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने योजनाका साथ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण कार्यलाई प्रभावकारी बनाइनुका साथै निजगढ विमानस्थल निर्माण प्रक्रियालाई चाँडो अघि बढाइनेछ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा हवाई मार्गबाट मात्रै चीनबाट एक लाख १५ हजार र भारतबाट एक लाख ६० हजार पर्यटक नेपाल आएका थिए ।नेपाल र भारतबीच खुला सिमाना रहेकाले सडकमार्गबाट नेपाल भित्रने पर्यटकको भने तथ्याङ्क छैन । सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१६ मा साँढे सात लाख पर्यटक भित्रिएका थिए । यसअघि सबैभन्दा बढी सन् २०१२ मा आठ लाख पर्यटक नेपाल आएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्