नेता खड्काको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाद्धारा दुःख व्यक्त

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित गरी नेपालमा लोकतन्त्र स्थापना र पुनःस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुभएका नेता खड्काको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ।


नेता खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनले सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।आज एक शोक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलले सिद्धान्त, संगठन र संघर्षको छवि बनाएर जीवनपर्यन्त लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक संघर्षशील अनुभवी नेता गुमाएको उल्लेख गर्नुभएको छ ।वरिष्ठ नेता पौडेलले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना र स्वर्गीय खड्काप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्