सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेनसमा प्रशिक्षणका लागि विदित अर्को साता सिंगापुर जाँदै

काठमाडौँ, १७ चैत्र / सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेनसमा प्रशिक्षणका लागि छनोट भएका विदितमान तुलाधारलाई ग्रासरुट फुटसल एकेडेमीले शनिबार बिदाई गरेको छ । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, विदितका प्रशिक्षक एकेडेमीका टेक्निकल डाइरेक्टर राजु श्रेष्ठ, एकेडेमीका प्रशिक्षार्थी, अविभावक लगायतले विदाई गरे । विविद चैत २३ गते सिंगापुर प्रस्थान गर्नेछन् । उनी एक साता अभ्यास फर्कने बताइएको छ ।

शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा जेठमा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट विदित छनोट भएका थिए । कुल ६५ खेलाडीको सहभागितामा ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा सञ्चालन भएको थियो । प्रशिक्षण क्याम्पमा १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए को ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकद्धय ड्यानियल ल्याण्डबुरु रोटेला र राफायल पालासियसले प्रशिक्षण दिएका थिए । उनीहरुलाई नेपालका ६ प्रशिक्षक थम्मन भुषाल, सनोज श्रेष्ठ, विना श्रेष्ठ, राजु श्रेष्ठ, नवीन महर्जन र निर्मल लामाले सघाएका थिए ।

विदेशी प्रशिक्षकद्वय रोटेला र पालासियसले ६५ खेलाडीबाट उत्कृष्ट रहेका विदितलाई चुन्दै उनलाई सिंगापुर लग्ने भएका हुन्। १४ वर्षे विदित रोजबड स्कुलमा पढ्छन् । ग्रासरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण गर्दै आएका विदित डिफेन्डर हुन्। यति बेला प्रशिक्षक रोटेला र पालासियसले थुप्रै खेलाडीबाट १ जना खेलाडी छान्न कठिन हुने उल्लेख गर्दै विदित उत्कृष्ट मध्येका उत्कृष्ट भएको बताएका थिए । विदितको सिंगापुर जाने सम्पूर्ण खर्च आयोजाकले व्यहोर्नेछ।


प्रतिक्रिया दिनुहोस्