वर्षको पहिलो उपाधि झापा ११ लाई कटारी मेयर गोल्ड कप च्याम्पियन ,

उदयपुर , १७चैत्र /  रमपम झापा ११ ले चौथो कटारी मेयर गोल्डकप फुुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो । झापाको यो वर्षको पहिलो पहिलो उपाधि हो । झापा गत महिना आफ्नै आयोजनमा भएको झापा गोल्ड कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

उदयपुरको कटारीस्थित खेल मैदानमा निर्धारित ९० र थप १५ मिनेट समय पनि गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट उपाधिको टुंगो लागेको थियो । टाइब्रेकरमा झापाका लागि विकास थुलुङ, प्रवेश गुरुङ, कर्ण लिम्बु र विशाल गुरुङले गोल गरे । झापाका कप्तान योगेश गुरुङको प्रहार गोलकिपर विनय श्रेष्ठले रोके । संकटाका हेम थापा र सौजन राई गोल गर्न सफल भए । संकटाका अनित गुरुङको प्रहार झापाका गोलकिपर मनोज प्रधानले रोके भने नवीन गुरुङको प्रहार बाहिरिएपछि संकटा उपाधि विहिन बन्न पुगेको थियो । कटारीको पहिलो संस्करण पनि झापाले नै जितेको थियो ।

विजेता झापले ५ लाख रुपैयाँ तथा दोस्रो भएको संकटाले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । झापाका विकास गुरुङ प्रतियोगिताका सवोत्कृष्ट खेलाडी चुनिए र उनले मोटरसाइल प्राप्त गरे । झापाका मनोज प्रधान उत्कृष्ट गोलकिपर, संकटाका सुरज विक उत्कृष्ट रक्षक, सोही क्लबका विश्व अधिकारी उत्कृष्ट मिडफिल्ड र टक्पी अनेष्ट सर्वाधिक गोल कताए चुनिए । उनीहरुले मोबाइल सेट प्राप्त गरे । कटारी ११ का प्रताप राई उदयीमान खेलाडी घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्