माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक

काठमाडौं, १८ चैत्र / नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८र३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले मात्र गोल गरेको खेलमा शनिबार पुलिसले कस्टम आरसीमाथि ९–१ को फराकिलो जित हासिल गरेको छ ।

सावित्राले टोलीका लागि लगातार चार खेलमा गोल गरिसकेकी छिन् भने अनिताले ४ मध्ये २ खेलमा गोल गरेकी छिन् । शनिबारको खेलमा सावित्राले ५ र अनिताले ४ गोल गरिन् । पहिलो मिनेटमा गोल गरेकी अनिलले पाँचौं र १२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यसपछि १८ औं मिनेटमा अनिताले अर्को गोल थपिन् ।

त्यसका पछिका ५ गोल सावित्राको नाममा रह्यो । सावित्राले १८ औं, २५ औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । उनले त्ससपछि ३३ औं र ३८ औं मिनेटमा गोल थपिन् । शनिबारसहित सावित्रा ४ मध्ये ३ खेलमा क्विन अफ दी म्याच घोषित भएकी छिन् । प्रतियोगितामा सावित्राको त्यो तेस्रो ह्याट्रिक हो । यसअघि ओरेडा र इकोनोमिक डेभल्पमेन्टविरुद्ध उनले ह्याट्रिक गरेकी थिइन् । इकोनोभिकविरुद्ध सावित्राले ७ गोल गरेकी थिइन् भने उम्कोविरुद्धको पहिलो खेलमा उनले १ गोल गरेकी थिइन् । ४ खेलमा सावित्राको गोल १६ र अनिताको ६ गोल पुगेको छ । अनिताले इकोनोमिकविरुद्ध २ गोल गरेकी थिइन् ।

माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्