चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर बढायो, व्यापार युद्धको खतरा

बेइजिङ  / चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको जवाफ दिँदै चीनले पनि अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको छ ।
सोमबार चीनले सुंगुरको मासु, फलफूललगायतका वस्तुमा झन्डै ३ अर्ब अमेरिकी डलर बराबरको कर बढाएको एसोसिएटेड प्रेसले जनाएको छ । समाचार अनुसार, यस्ता वस्तुहरु चिनियाँ भूमिमा निकै महँगा पर्न जानेछन् र चीनमा ती वस्तुले बजार गुमाउँदै जानेछन् ।
 अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग अर्बौं व्यापार घाटा रहेको भन्दै मार्च २३ देखि लागू हुने गरी चीनबाट आयात हुने विभिन्न वस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । ट्रम्प अझै अगाडि बढेर सूचना प्रविधि लगायतका क्षेत्रमा पनि कर लगाउने योजना बनाइरहेका छन्, जसका कारण चिनियाँ वस्तुमा ५० अर्ब अमेरिकी डलर बराबरको कर थपिन सक्छ ।
चीन र अमेरिकाबीचको पछिल्लो व्यापारिक तनावले दुवै देशबीच व्यापार युद्ध उत्र्कषमा पुग्ने अनुमान गरिएको छ । यी दुवै देशको कदमको प्रभाव सोमबार बिहानैदेखि टोकियो र हङकङ स्टक मार्केटमा समेत देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्