पार्टी एकताका लागि कार्यदलले टुंगाउन नसकेका तीन विषयमा आज छलफल हुँदै

काठमाडौं, २० चैत / एमाले र माओवादीबीच पार्टी एकताका लागि टुंगो लाग्न बाँकी विषयमा आज साँझ एकता संयोजन समितिको बैठक बस्दैछ । बैठकमा , कार्यदलले टुंगाउन नसकेका तीन विषयहरू माथि ब्यापक छलफल हुँदैछन् । यस अघि यी दुई दलले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अघि नै एकता गर्ने बताएका थिए । तर, विभिन्न विषयमा सहमति जुटन नसकेपछि एकता लम्बिएको छ । अब यी दुई दल वैशाख ९ गते अर्थात २२ अप्रिलका दिन पार्टी एकता घोषणासभा गर्ने तयारीमा छन् । २२ अप्रिल कम्युनिष्ट पार्टी स्थापना दिवस मानिन्छ ।राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसकेको छ । एकता संयोजन समितिको बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरिसकेपछि थप छलफल शुरु हुने नेताहरुले बताएका छन् । सकेसम्म मंगलबार नै टुंग्याउने प्रयासमा नेताहरु छन् । दुई पार्टीबीच एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ ।

फाइल तस्विर।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने सहमति गरेको छ । केन्द्रसहितसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विवाद कायमै छ । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ । माओवादी समानतालाई आधार मान्नुपर्ने मागमा छ । विधान मस्यौदामा ‘जनयुद्ध’ शब्द राख्नुपर्ने माओवादीको माग छ । अहिले विधानको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिएको छ । एमाले ‘जनक्रान्ति’ र माओवादी ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने पक्षमा छन् । दुई दलवीच चुनाव चिह्नको पनि विवाद छ । एमाले सूर्य चिन्हकै पक्षमा छ । माओवादी सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडानमा छ ।

मंगलबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा दुवै प्रतिवेदन बुझाउन लागिएको राजनीतिक कार्यदलका सदस्य तथा माओवादी नेता देवेन्द्र पौडेलले बताए । दुवै प्रतिवेदन एकमुष्ठ रुपमा एकता संयोजन समितिलाई बुझाउन लागिएको नेता पौडेलले बताउनुभयो । प्रतिवेदन बुझाएपछि नमिलेका केही विषयमा कार्यदलका सदस्यसहित संयोजन समितिमा सामान्य छलफल हुने पौडेलले बताए । त्यस्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह बस्ने बैठकमा दुवै कार्यदलका सदस्यहरुले एकताको मिति घोषणा गर्न पनि सुझाव दिने तयारी गरेका छन् ।दुवै कार्यदलले आगामी बैशाख ९ गते पार्टी एकताको मिति घोषणा गर्न सहमत भएकाले त्यहि दिन उपयुक्त हुने सुझाव दिने एमाले नेता तथा कार्यदल सदस्य सुवास नेम्वाङले बताए । वैशाख ९ गते कम्युनिष्ट स्थापनाको दिवस भएकाले उक्त दिन पार्टी एकता गर्दा राम्रो सन्देश जाने भएकाले उक्त दिन रोजिएको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्