रंगभेदविरोधी आन्दोलनकी नेतृ विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन

काठमाण्डौं ,चैत २० / दक्षिण अफ्रिकाको रंगभेदविरोधी आन्दोलनकी एक अगुवा विनी माडिकियला मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ। उनी नेल्सन मण्डेलाकी पूर्वपत्नी पनि थिइन्। लामो समयको बिमारीपछि जोहानेसवर्गको एक अस्पतालमा विनीको निधन भएको उनका सहयोगीले बताएका छन्।समर्थकहरुले उनलाई ‘राष्ट्रमाता’ का रुपमा हेर्ने गरेका छन्। बलियो नेतृत्व, कडा वक्तव्यशैली र साहसी नेतृको रुपमा उनको छवि स्थापित छ। केहीले उनलाई हिंसात्मक घटना तथा भ्रष्टाचारसँग जोडेर हेर्ने गरेका छन्। नेल्सन र विनीबीच सन् १९५७ मा भेट भएको थियो। विनीले आफूभन्दा १८ वर्ष जेठा नेल्सनसँग अर्को वर्ष विवाह गरिन्। तर नेल्सन १९६० मा भूमिगत भए, १९६२ मा पक्राउ परे र त्यसपछिको २७ वर्ष जेलमा बिताए। नेल्सन जेलमा रहुञ्जेल उनको मुक्तिका लागि तथा रंगभेदविरोधी आन्दोलन संगठित गर्नका लागि विनी निरन्तर संघर्षरत रहिन्। उनलाई बारम्बार घरमै नजरबन्दमा राखियो। संघर्ष हिंसात्मक हुँदै जाँदा र आन्दोलन चर्किँदै जाँदा विनी बारम्बार धोकाको शिकार भइन्। त्यसपछि उनले ‘आफूहरुसँग बन्दुक नभएको तथा ढुंगा, सलाइको बट्टा र पेट्रोल मात्र भएकोले त्यसैको प्रयोग गरेर धोकेबाजहरुलाई सिध्याउन’ आह्वान गरिन्। त्यसबेला धोकेबाज ठानिएका व्यक्तिहरुलाई पेट्रोल भरिएको टायर घाँटीमा राखेर आगो लगाइने गरिन्थ्यो। यस क्रियालाई ‘नेकलेसिङ’ नाम दिइएको थियो।

एक १४ वर्षीय किशोरको अपहरणमा पनि उनलाई दोषी मान्ने गरिन्छ, जो १९८९ मा विनीका अंगरक्षकद्वारा मारिएका थिए। सन् १९९० फेब्रुअरी ११ मा नेल्सन केप टाउनको भिक्टर भेर्सटर जेलबाट मुक्त भए। तर नेल्सन र विनीबीच दरार देखिन थाल्यो। विनी आफ्नो विलाशी जीवनशैली, कानुनी लफडा लगायतका नकारात्मक कारणहरुले समाचारमा छाउन थालिन्। सन् १९९२ बाट विनी र नेल्सन अलगअलग बस्न थाले। १९९४ मा नेल्सन दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बने। दुवै पक्षबाट भएको अत्याचारका घटनाहरुको समाधानका लागि गठित सत्य तथा मेलमिलाप आयोगमा उपस्थित भएर आफ्नो नामबाट भएका अत्याचारहरुप्रति पछुतो मान्न विनीले अस्वीकार गरिन्। मेलमिलाप आयोगमा अध्यक्ष डेसमन्ड तुतुको आग्रहपछि मात्र उनले ‘कुरा नराम्ररी बिग्रिएको’ स्वीकार गरिन्।

सन् १९९५ मा भ्रष्टाचारको आरोप लागेपछि नेल्सनले विनीलाई आफ्नो मन्त्रीपरिषदबाट बर्खास्त गरे। १९९६ मा उनीहरुबीच सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेदपछि उनले आफ्नो नाममा पुरानो थर माडिकियला पनि थपिन्। ‘मण्डेलासँग मेरो सम्बन्ध राम्रो छ। तर म मण्डेलाको उत्पादन होइन। म मेरो देशका जनता र आफ्ना दुश्मनहरुको उत्पादन हुँ,’ उनले भनेकी थिइन्। २००९ को संसदीय निर्वाचनमा उनी विजयी बनिन्। राष्ट्रपति छँदा खुब विरोध गरेकी उनी नेल्सनको अन्तिम समयमा हरेक दिनजसो उनलाई भेट्न जाने गर्थिन्। हामीले देशको लागि ज्यान अर्पण गरिरहँदा आजकै जस्तो दक्षिण अफ्रिको सपना देखेका थियौँ भन्ने हो भने म एकदमै बुद्धु ठहरिनेछु,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्