रियल म्याड्रिडलाई युभेन्टसको चुनौती

टुरिन,२० चैत्र / आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा गत वर्षका विजेता र उपविजेता भिड्दै छन् । रियल र युभेन्टस नेपाली समयअनुसार १२।३० बजे युभेन्टस स्टेडियममा भिड्ने छन् । घरेलु टोली युभेन्टसले आफ्नो घरेलु लिगको पछिल्लो खेलमा एसी मिलानलाई ३-१ ले हराएको थियो । युभेन्टसका मिरालेम पाज्निच र मेधि बेनाटिया यस खेलमा प्रतिबन्धित छन् ।

त्यसैगरी मारियो मान्डजुकिच पूर्ण फिट नरहेका कारण खेलमा सहभागी नहुने सम्भावना बढी रहेको छ । अर्को तर्फ लास पाल्मासलाई यही साता ३-० ले हराएको रियल म्याड्रिड पनि लयमा रहेको छ । नाचो पूर्ण फिट छैनन् भने ग्यारेथ बेलको स्थान इस्को अथवा एसेन्सियोले लिने देखिन्छ । क्रिस्टियानो रोनाल्डोलाई अघिल्लो खेलमा विश्राम दिइएको थियो त्यसैले उनी पूर्ण विश्रामसहित खेलमा फर्किने छन् । यी दुई टोली बीचको पछिल्लो ६ खेलमा रियल र युभेन्टसले दुईदुईमा जित हात पारेका छन् भने दुई खेल बराबरीमा टुंगिएको छ ।

रियल लालिगामा तेस्रो स्थानमा रहेको छ भने तुलनात्मक रुपमा सिजनमा राम्रो लयमा रहेको युभेन्टस इटालियन सेरिआको पहिलो स्थानमा रहेको छ । बायर्न र सेभिल्ला पनि भिड्दै च्याम्पियन्स लिगको अन्य खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिख स्पेनिस क्लब सेभिल्लाको सामना गर्दै छ । सो खेल नेपाली समयअनुसार १२:३० बजे सेभिल्लाको घरेलु मैदानमा खेलिने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्