रोनाल्डोको २ गोलमा रियलको सहज जित

टुरिन, २१ चैत्र /  क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३-० सहज जित निकालेको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति युभेन्टस्को घरेलु मैदानमा रियललाई जिताउन सुपरस्टार क्रिष्टियानोले दुई तथा मार्सेलोले १ गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको रियालले १० खेलाडीमा समेटिएको युभेन्टस्विरुद्ध दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । दोस्रो हाफमा रोनाल्डो र मार्सेलोले गोल गरे । ६४ औं मिनेटमा रोनाल्डोले ड्यानियल कार्भाजोलको पासमा ओभरहेड किकमार्फत गोल गरेपछि रियलले २–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि ६६ औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो । युभेन्टस्का पाउलो डिब्याला दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि रियललाई खेलमा थप सहज भएको थियो । ७२ औं मिनेटमा रोनाल्डोकै पासमा अफसाइड बिट गर्दै मार्सेलोले गोल गरेपछि रियलले युभेन्टसमाथि ३–० को सहज जित निकाल्यो । त्यसअघि ३५ औं मिनेटमा रियलका टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको सशक्त प्रहार बारमा लागेर फर्कदा अग्रता दोब्बर पार्ने मौका खेर गएको थियो ।

युभेन्टस्ले पनि खेलमा गोल गर्ने मौका सिर्जना गरेपनि रियलका डिफेन्डर र गोलकिपर बाधक बनिदिदा गोल गर्न सकेन । युभेन्टसविरुद्ध दुई गोल गरेसँगै रोनाल्डो च्याम्पियन्स लिगमा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यस सिजनको ९ खेलमा रोनाल्डोले आफ्नो गोल सङ्ख्या १४ पुयाएका छन् । अवे मैदानमा भएको पहिलो लेगमा ३–० को अग्रता बनाएसँगै रियल सेमिफाइनल नजिक पुगेको छ । दोस्रो लेग अर्को साता रियलको घरेलु मैदानमा हुनेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्