चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन

 ताप्लेजुङ संबादाता

ताप्लेजुङ, २१ चैत / दुर्लभ वन्यजन्तु तथा वनस्पति सहितका जैविक विविधताले भरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा चोरी शिकारी नियन्त्रणका लागि‘स्विप अप्रेसन’सञ्चालन गरिएको छ। वन्यजन्तुको चोरी शिकारी तथा अपराध नियन्त्रण सम्बन्धी अभियानलाई स्विप अप्रेसन नाम दिइएको हो। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, कञ्चजंघा संरक्षण क्षेत्र कार्यालय र नेपाली सेनाको ताप्लेजुङ स्थित नयाँ रणभीम गुल्मको संयुक्त प्रयासमा अप्रेसन सञ्चालन गरिएको हो। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका निमित्त प्रमबुख,रेञ्जर योगेश ढकालले अप्रेसनका क्रममा नाउर, मृग र हिमचितुवा सहितका दुर्लभ वन्यन्तुलाई कब्जामा लिनेगरी थापिएका २५ बढी पासो नियन्त्रणमा लिएको जानकारी दिए।

                                                        फाइल तस्बिर ।

उनका अनुसार यि बाहेक डाँफे र मुनाल सहितका संरक्षीत प्रजातिका लागि शिकारीले थापेका स्थानीय तवरका डोरीको पासो समेत अप्रेसन टोलीले जफत गरी नष्ट गरेको छ। ‘हिउँले गर्दा थापिएको शंका गरिएका सवै स्थानबाट पासो नियन्त्रणमा दिन सकिएन’ढकालले भने‘तर अप्रेसन प्रकृयालाई नियमित गर्ने छौं। अप्रेशन टोलीले यो क्षेत्रमा करिव ५० वटा जति पासो थापिएको अनुमान सहित सर्च सुरु गरेको थियो। उनले चोरी शिकारी नियन्त्रणका लागि यस्ता अप्रेसनका कार्यलाई नियमित र प्रभावकारी बनाउने कार्ययोजना तयार भएको जानकारी दिए। नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी निर्मल खड्काले अप्रेसनका क्रममा दुर्लभ वन्यजन्तुका लागि थापिएका पासो हटाउने देखि स्थानीय समुदायलाई चोरी शिकारी विरुद्ध जागरुक बनाउने सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार अप्रेसनमा गएको टोलीले ओलाङचुङगोला देखि टिपतालापास सम्मको बिग्रीएको पदमार्ग बनाउने,पदमार्ग वरपर सफाई गर्ने, आगलागी नियन्त्रणका लागि समुदाय सचेतीकरण कार्यक्रम सञ्चालन समेत गरेको छ। २० दिनका लागि तोकिएको अप्रेसन अभियानमा ओलाङचुङगोला देखि टिपताला सम्मको भाग केन्द्रित गरिएको थियो। टीपतालासपास नेपाल र चिनको स्ववासित क्षेत्र तिब्बतको सिमानाका हो। टिपतालापासबाट ८ किलोमिटरको दुरीमा तिब्बतको रिउ बजार अवस्थित छ।

स्थानीय समुदायले दिएको सुचना र गर्ने सहयोगलाई लिएर यो क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रण कार्य सफल बनाउन सकिने खड्काको विश्वास छ। यसै क्षेत्रको खम्बाछेन ईलाकामा नेपालमै पहिलो पटक क्यामरा ट्रयापमा हिमचितुवा परेको थियो। त्यसपछि गरिएको रेडियो कलरिङबाट नेपालमै सबैभन्दा बढी घना रुपमा यो क्षेत्रमा हिमचतुवा पाइने पुष्टी भएको छ । विश्व जन्तु कोषसँग मिलेर व्यवथापन परिषद् र तत्कालिन कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले रेडियो कलरिङबाट हिमचितुवाको अध्यन गरेका थिए। हिमचितुवाको घाँटीमा विशेष प्रकारको उपकरण जडान गरी उसको दैनिकी पत्ता लगाउन प्रयोग गरिएको बिधीलाई कलरिङ भनिन्छ। हिमचितुवाको घना उपस्थिति रहेको पाइएपछि नेपाल सरकारको अग्रसरता यो क्षेत्रमा हिमचितुवा अध्यन केन्द्र समेत बन्ने भएको छ ।

– पदम श्रेष्ठ ।


प्रतिक्रिया दिनुहोस्