विराट गोल्डकपः पुलिसलाई पन्छाउँदै आर्मी सेमिफाइनलमा

विराटनगर,२२ चैत / विभागीय डर्बीमा पुलिसलाई हराउँदै त्रिभुवन आर्मी क्बल पाँचौ विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार आर्मीले अर्को विभागीय टोली साविक विजेता नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

यसअघि हेटौंडामा माघ २० गते सम्पन्न सुमन बम्जन स्मृती गोल्डकपको फाइनलमा पुलिसलाईनै पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले हराउँदै उपाधि जितेको थियो।निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टी सुटआउटमा साविक विजेता पुलिसको एउटा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए। पेनाल्टी सुटआउटमा आर्मीका कप्तान भरत खवास, दिपक गुरुङ, बिवेक बस्नेत र जर्ज पिन्स कार्कीले गोल गरे भने पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिँदा निरास बन्नुपरेको थियो।

निरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भयो। राईको प्रहार गोलरक्षक कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरियो। खेलअवभिर पुलिसले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ फितलो गर्दा र अन्तिममा तालमेल गुमाउँदा आर्मीले त्यसको फाइदा लियो। पुलिसले गोल गर्नका लागि पाएका आधा दर्जन राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा यस अघिका हारमा बद्ला लिन सकेन।

निकै रोमाञ्चक भएको खेलको पहिलो हाफसम्म नेपाल पुसिस क्बलले आर्मीलाई दावावमा राखेको थियो । पहिलो हाफममा आक्रामक रुपमा प्रस्तुत भए पनि पुलीसले गोल गर्न सकेन । दोस्रो हाफ पछि आक्रमक रुपमा मैदानमा उत्रेको आर्मीले पनि गोल गर्ने केही अवसर गमाउँदा निर्धारित समयमा खेलको निर्णय हुन सकेन। आर्मीका प्रशिक्षक नविन न्यौपानेले आशा गरिए अनुरुपको नतिजा प्राप्त हुन नसकेको बताए। उनले पहिलो हाफमा धेरै खेलाडी परिवर्तन गर्नु पर्दा पुलिसको दवाव झेल्नु परेको बताए।

यता पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए। खेलको म्यान अफदी म्याच नेपाल पुलिसका रवि पासवान भए। यो सिजनमा आर्मी र पुलिसको यो तेस्रो भेट हो । सबै खेलमा पुलिस पराजित भएको छ। आर्मीले यो वर्ष सिजनका सात वटा उपाधि जितिसकेको छ भने पुलिसले दुई वटा मात्रै जित्न सकेको छ। अब फाइनल प्रवेशका लागि आर्मीले शुक्रबार झापा ११ को सामना गर्नेछ। बिहीबार अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।


प्रतिक्रिया दिनुहोस्