दीलको पहिलो प्राथमिकता भलिबल

बागलुङ, २२  चैत्र / नेपालको पुरुष भलिबलको चर्चा गर्दा गत वर्ष माल्दिभ्समा प्राप्त गरेको सफलताको छुट्दैन । कारण थियो नेपालले अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँन थालेको झन्डै ४ दशकपछि पहिलो पटक पदक त्यहि प्रतियोगितामा जितेको थियो । एभिसी सेन्ट्रेल जोन भलिबल च्याम्पियनसिपमा नेपाल कास्य पदक जित्दै फर्केको थियो । नेपालले पुरुष भलिबलमा प्राप्त गरेको त्यो अहिले सम्मकै ठूलो सफल हो । त्यो टोलीका एक सदस्य थिए, त्रिभुवन आर्मी क्लबका दील बहादुर सुनार । यति बेला भने चोट कारण उनी आराम गरिरहेका छन् । बागलुङको निसिखोला गाउँपालिका १ देविस्थानमा जन्मेका दीलले छाटो समयमा राष्ट्रिय टोली सम्मको यात्रा तय गरेका थिए । हालै संगितमा समेत प्रवेश गरेका उनी पहिलो प्राथमिकता भने भलिबललाई नै दिन्छन् । यति बेला गृह जिल्लामा रहका उनीसँग गरिएको कुराकानी :

-दील बहादुर सुनार

भलिबलमा तपाईको प्रवेश कसरी भयो ?
– सानैबाट भलिबल खेल्थे गर्दथे । ५ कक्ष सम्म बुर्तिवाङको हिबल इन्टरनेशनल एकेडेमीमा पढे । ६ कक्षामा काठमाडौं पढ्न गए । स्कुलदेखि नै भलिबल खेल्ने भएपनि नेपाली सेनामा आबद्ध भए । क्लबबाट प्रदर्शन गरेको आधारमा राष्ट्रिय टोली सम्म पुग्न सफल भए ।

राष्ट्रिय टोली सम्म पुग्न कत्तिको कठिन छ ?
– यसमा अलि भाग्यशाली ठान्छु । महेन्द्र शेरचन, खगेन्द्र शेरचन दाईले सहयोग गर्नुभयो । काठमाडौंमा पढ्न गएर र त्यही स्कुलस्तरमा भलिबल खेल्दै गर्दा खेल राम्रो देखेर प्रिन्सिपल राम बहादुर केसी सरले भलिबलको प्रशिक्षणमा राख्दिनुभयो । त्यहाँ राम्रो भएपनि आर्मी गए आर्मीबाट खेलेपछि प्रशिक्षकको नजरमा परे ।

हरेकले तपाईले जस्तै अवसर त पाउँदैनन् नी ?
– हाम्रो क्षेत्रमा भलिबलको तालिमको वातावरण छैन । सर्पोट पनि हुँदैन । गाउँमा मात्र खेलेर मात्र प्रगती हुने होइन । माथिल्लो स्तरमा पुग्नको लागि यहाँबाट बाहिर निस्कनै पर्छ । बागलुङदेखि काठमाडौंसम्म पु¥याइदिने र त्यहाँ खेल्ने वातावरण मिल्यो भने मात्र अघि बढ्ने सम्भावना रहन्छ । हाम्रो क्षेत्रका भलिबल र यसका खेलाडी पछाडि नै छौं ।

भलिबल सहज वा कठिन कस्तो खेल हो ?
– सबै खेलको आ आफ्नै विशेषता छन् । भलिबल पनि सहज खेल होइन । एकदमै छिटो र हावाको भरमा एक सेकेण्डमा सोच्नुपर्ने खेल हो भलिबल । भलिबलमा टेक्निकनिक, सार्पनेश, क्विकनेस, पावर जम्प सबै आवश्यक पर्दछ ।

भलिबलमा तपाई सम्झना आइरहने क्षण ?
– खेल जीवनमा सबै भन्दा खुसी माल्दिभ्समा कास्य पदक जित्दा नै हो ।

राष्ट्रिय टोलीमा पर्नका लागि नयाँ खेलाडीलाई कस्तो सल्लाह दिनुहुन्छ ?
– आफ्नो पोजिसनमा उत्कृष्टमध्ये पनि उत्कृष्टले राष्ट्रिय टोलीमा अवसर पाउने हो । तपाईको मेहनत र क्षमताका आधारमा टोलीमा पर्ने हो ।

नेपालको भलिबलले अझै प्रगति गर्न कस्तो वातारण हुनुपर्दछ ?
– अहिले जस्तो छ यो भन्दा प्रगति गर्ने हो भने प्रशिक्षण, डाइटलगायतका अन्य वातावरण राम्रो हुनु पर्दछ । अर्को खेल्नका लागि उपयुक्त कोर्टको पनि त्यत्तिकै जरुरी छ ।

बागलुङमा जन्मिएको मान्छे, सफल खेलाडी बन्नुभएको छ, आफ्नो ठाउँलाई कसरी सम्झनुहुन्छ ?
– मान्छे जहाँ पुगोस् आफु जन्मेको ठाँउ बिर्सन सक्दैन । मेरो लागि पनि यहाँका हरेक क्षत्र त्यत्तिकै प्रिय छन् । जतिले मलाई सहयोग गर्न सहयोग र उप्रेरित गर्नुभएको छ सबैप्रति आभारी छु ।

चोटका कारण बाहिर बस्नुपर्दा कस्तो महसुस हुने रहेछ ?
– दुःख लाग्छ । तर खेलाडीलाई चोट लाग्नु स्वभाविक हो । अझै ३ महिना आराम गर्नुपर्छ । त्यसपछि फेरि मेहनत गरेर राष्ट्रिय टोलीमा फर्कन्छु भन्नेमा आशावादी छु ।

भलिबलको राष्ट्रिय खेलाडी हुँदा हुँदै संगित क्षेत्रमा प्रवेश गर्नुभएको छ । तपाईका लागि कुन बढी प्रिय लाग्छ ?
– मलाई गित संगित मनपर्छ । तर, त्यो भन्दा बढी भलिब मनपर्छ ।

बागलुङको भलिबलको विकासका लागि तपाईको सुझाव के हुन्छ ?

– हरेक जिल्लाले नियमित प्रशिक्षणको व्यवस्था गर्न सकेको खण्डमा स्थानिय स्तरबाट खेलाडी उत्पादन गर्ने वातावरण बन्थ्यो ।

 

-अर्जुन कार्की


प्रतिक्रिया दिनुहोस्