विराटनगर विजयी : पवनको अलराउण्ड प्रदर्शनमा

धनगढी, २२ चैत / पवन सरार्फको अलराउण्ड प्रदर्शनको मदतमा विराटनगर किङ्गसले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । उसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हरायो । बिराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । ५२ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । सम्हारेर खेल्न नसक्दा चौराहाको विकेट झर्ने क्रम रोकिएन । चौराहाका लागि शंकर रानाले २५ रन बनाउदा अस्फाक अहमदले २२ तथा राजु रिजालले १८ रन जोडे ।

सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाएपनि हारबाट बचाउन सकेनन । बलिङ तर्फ विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर१२७ रन बनायो । विराटनगरको सुरुवात राम्रो रहेन । टिमको स्कोर मात्र १० रन हुँदा ओपनर दिलिप नाथ व्यक्तिगत ४ रनमा आउट भए । अनिलकुमार साहले बाबर हातायसँग मिलेर पारी सम्हाल्न प्रयास गरे । दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका अनिल २४ रनमा आउट भए । लगत्तै बावर हायात पनि १५ रनमा पेभेलियन फर्किएपछि विराटनगरले ४५ रनमा तेस्रो विकेट गुमायो ।

कप्तान पारस खड्का पनि मात्र दुई रनमा आउट भए । पवन सर्राफले आक्रामक पारी खेल्दै विराटनगरलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याए । उनले सुभम कामतसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे भने मञ्जित श्रेष्ठसँग २७ रनको पार्टरसिप गरे । सरार्फले ३४ बलमा ४१ रन बनाए । चौराहाका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुई/दुई विकेट हात पारे ।

यो प्रतियोगितामा अर्को रोचक पक्ष पनि थियो । विराटनगर किङ्ग्स सम्हालेका पारस खड्का नेपालका टिम कप्तान हुन् । त्यस्तै विराटनगरबाटै खेलिरहेका रहेका बाबर हायात हङकङका टिम कप्तान हुन् भने टिम चौराहा धनगढीबाट खेलिरहेका रोहन मुस्तफा युएईका टिम कप्तान हुन् ।


प्रतिक्रिया दिनुहोस्