प्रधानमन्त्री ओलीले भारतमा तीनदिन केके गर्ने ?

काठमाडौं, २३ चैत्र / प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार तीन दिने राजकीय भ्रमणका लागि भारत गएका छन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओलीले भारतमा तीनदिन केके गर्नेछन ?

शुक्रबार
ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवनमा पुग्ने र त्यसपछि केही बेर आराम गरेपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै प्रधानमन्त्री ओलीले नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बेलुकी उनी नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

शनिबार
भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुने प्रधानमन्त्री कार्यालयले वताएको छ। बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् । स्वागतपछि भारतीय सेनाले ओलीलाई उच्च सैनिक ‘गार्ड अफ अनर’ लिएपछि प्रधानमन्त्री ओलीसंग भारतका राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ।

त्यसपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगरेर दीप प्रज्वलन गर्ने कार्यक्रम छ। हैदरवाद हाउसमा सुरुमा दुबै देशका प्रधानमन्त्री प्रधानमन्त्री एक्लाएक्लै वार्ता हुनेछ । दुई देशका प्रतिनिधिमण्डलसहितको औपचारिक छलफल हुनेछ।

दिल्लीबाटै दुबै प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजना र वीरगञ्जमा रहेको संयुक्त चेकपोष्टको उद्घाटन गर्ने छन् । हैदरावाद हाउसमै संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । यसलार्इ दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। ओलीसंग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ । भारतीय नेताले पनि शनिबार नै प्रधानमन्त्री ओलीसंग भेट गर्नेछन्।

इण्डिया फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन्। ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन्।

आइतबार
आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम तय भएको छ। उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।‍ प्रधानमन्त्री ओलीलाई सो विश्वविद्यालयले मानार्थ विद्यावारिधी उपाधि दिनेछ। आर्इतवार साँझ प्रधानमन्त्री ओली स्वदेश फर्किनेछन्।


प्रतिक्रिया दिनुहोस्