कस्मिरमा विशाल प्रदर्शन, सुरक्षाकर्मीले गोलि चलाउदा सयौं घाइते

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २६ / कस्मिरमा विशाल प्रदर्शन,गर्दा सुरक्षाकर्मीको गोलीबाट सयौं घाइते भएका छन् ।कस्मिरले पाउँदै आएको विशेष राज्यको अधिकार खारेज गर्ने भारत सरकारको निर्णयविरुद्ध कस्मिरमा विशाल प्रदर्शन भएको छ। तनावपूर्ण माहोल तथा सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच शुक्रबार श्रीनगरको सौरा क्षेत्रमा ठूलो प्रदर्शन भएको थियो ।भारतका सरकारी अधिकारीहरुले प्रदर्शन भएको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बीबीसीसहितले प्रदर्शनका भिडियो सार्वजनिक गरेका छन्।

बीबीसी हिन्दीले सार्वजनिक गरेको भिडियोमा ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएको देखिएको छ। प्रदर्शनकारी दमन गर्न सुरक्षाकर्मीले गोली चलाएका थिए। भिडियोमा फायरिंगको आवाज प्रस्ट सुनिन्छ। सुरक्षाकर्मीको गोलीबाट सयौं मानिस घाइते भएको सञ्चार माध्यमहरूको अनुमान छ। जम्मु कस्मिर राज्यलाई दिँदै आएको विशेष अधिकार अन्त्य गर्न संविधानको अनुच्छेद ३७० खारेजीको घोषणापछि अहिले कस्मिर अवस्था तनाबपूर्ण छ।

शुक्रबार प्रदर्शनकारी तथा सुरक्षाबलबीच दुई ठूला झडप भएका छन्। ती झडपमा कति घाइते भए भन्नेबारे केही जानकारी छैन। सरकारी अधिकारीहरु कस्मिर प्रदर्शनको घटनाका तथ्यहरू लुकाइरहेका छन्। श्रीनगरको सौरा क्षेत्रमा भएको प्रदर्शन। त्यहाँ सयौंको भिडमाथि सुरक्षाकर्मीले गोली चलाएका छन्।

भारतीय गृह मन्त्रालयलका प्रवक्ताले एक ट्विट गर्दै भनेका छन्, ‘रोयटर्ससहित सञ्चार माध्यमले श्रीनगर बिरोध प्रदर्शनमा १० हजार मानिस सहभागी भएको बताएका छन्। यो पूर्ण रुपमा मनगणन्ते तथा गलत समाचार हो। त्यहाँ भएको प्रदर्शनमा २० जना जति सहभागी भएका हुन्।’

बीबीसीले सार्वजनिक गरेको भिडियोमा गोली चलेको आवाज सुनिन्छ कस्मिरका केही क्षेत्रमा कर्फ्युको समय छोट्याइएको छ। कर्फ्यु हट्दै गएपछि केही पसल खुलेका छन्। सडकमा फाट्टु फुट्ट गाडी देखिन थालेका छन्। कफ्र्यु १२ अगस्टसम्म जारी रहने सुरक्षा अधिकारीहरुले बताएका छन्।

गत सोमबार भारत सरकारले जम्मु कस्मिरलाई दिँदै आएको विशेष राज्यको अधिकार अन्त्य गरिदिएको थियो। जम्मु कस्मिर राज्यलाई दुई हिस्सा लद्दाख र कस्मिरमा विभाजित गरेको थियो। दुवै क्षेत्रलाई केन्द्र शासित प्रदेशको दर्जा दिइएको छ।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल आफ्नो पूरै टोलीसहित श्रीनगरमै छन्। उनी कस्मिर प्रकरणका एक जना मुख्य रणनीतिक योजनाकार मानिन्छन्।


प्रतिक्रिया दिनुहोस्