खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता

 पोखरा, २४ चैत / प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका छन् । बाग्लुङका प्रदेशसभा सदस्य पियारी थापाले जनता बरेङ गाउँपालिका वडा नं ५ बाग्लुङमा खानेपानी लिनका लागि दुई तीन घण्टासम्म बोकेर ल्याउन बाध्य भएकाले समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउनुभयो । कास्कीकी पुष्पा केसीले महिला हिंसा रोकथामका साथै हिंसापीडित महिलाई पुनःस्थापना गरिनुपर्नेमा जोड दिँदै महिला सरकारी कर्मचारीलाई ९८ र शिक्षिकालाई ६० दिन प्रसूति विदा दिने गरी गरिएको विभेद अन्त्य गर्न र ठाउँ ठाउँमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो ।
कास्कीकै विन्दुकुमार थापाले पोखरा लेखनाथ महानगरपालिका नाममा रहेको वडा नं ३३ स्थित पशुपतिघाटस्थित दुई सय रोपनी जग्गामा क्रिकेट रङ्गशाला बनाउन पहल गर्नुपर्ने बताउनुभयो । मुस्ताङका महेन्द्रबहादुर थकालीले जलवायु परिवर्तनलाई दृष्टिगत गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कोष स्थापना गरिनुपर्ने बताउनुभयो । लमजुङका मायानाथ अधिकारीले लमजुङमा रुदी खोलालगायत पुल निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्