रवि लामिछानेसहित तीनै जनाविरुद्ध अभियोग दर्ता

काठमाडौं भदौ ८ / पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लापिमछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ ।प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिएका छन् । प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा अभियोग दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको जानकारी गराएका छन् । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कार्वाही हुने उनले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका उनीहरुलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ । साउन २० गते चितवनको कंगारू होटलको कोठामा झण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बाहिरिएपछि न्युज २४ का कार्यक्रम संचालक रवि लामिछानेसहित तीनजना पक्राउ परेका थिए।

भिडियोमा पुडासैनीले रविसहित, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको नाम लिएका थिए।


प्रतिक्रिया दिनुहोस्