रवि लामिछानेसहित तीनै जनाको बयान शुरु,

चितवन, भदौ ८ / पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परी अनुसन्धानमा रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाको बयान लिने काम शुरु भएको छ ।पत्रकार पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवी लामिछानेसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ ।

मुद्दा १ नम्बर इजलासमा रहेका न्यायधीश हेमन्त रावलले हेर्ने तय भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिएका छन् । लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालयले मुद्दामा अभियुक्त तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग दावी गर्दै मुद्दा दर्ता गराएको हो । मुद्दामा अहिले आरोपितहरुको बयान लिने काम अदालतले शुरु गरेको छ । अहिले शुरुमा अस्मिता कार्कीको बयान लिने काम भइरहेको जनाइएको छ । बयान लिने काम सकिएपछि मुद्दामा थुनछेक बहस शुरु हुने गिरीले जानकारी दिएका छन् ।

प्रहरीले तीनै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन र प्रमाणहरु आइतबार बिहान सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सरकारी वकिल कार्यालयले अनुसन्धान फाइल अध्ययन गरेर अभियोग पत्र तयार गरी मुद्दा दर्ता गरेको हो ।

थुनछेक बहसपछि मात्र साधारण तारेख, धन जमानी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ । अदालती समय ५ बजेसम्म मात्र भएकाले आज नै थुनछेक बहस सकिने सम्भावना भने न्यून रहेको जनाइएको छ ।

लामिछानेका समर्थकले बिहानैदेखि भरतपुरको चौबिसकोठी र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राति मृत्त फेला परेका थिए ।आत्महत्याअघि पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको भिडियो सन्देश खिचेको भेटिएको छ छ । सोही भिडियोकै कारण उनीहरु आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस्