उपमहानगरका वडाध्यक्षले गरे आत्महत्या प्रयास,

बुटवल,भदौ २१ / बुटवल उपमहानगरपालिका–२ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् ।नेपालले वडा नं। २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङको पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । कोठाको ढोका बन्द गरी सिलिङको पंखामा झुण्डिएको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँटीको डोरी काटेर अस्पताल पुर्‍याइएको थियो । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

घटनापछि भैरहवा मेडिकल कलेजमै रहेका बुटवल– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन् ।चिकित्सकलाई उद्धृत गर्दै क्षेत्रीले लामो समय श्वासप्रश्वास बन्द भएको कारण मस्तिष्कमा अक्सिजन बन्द भए पनि घाँटीको हड्डी भने नभाँचिएको बताएका छन् ।

क्षेत्रीले उनको आत्महत्या प्रयासको कारणबारे केही थाहा नभएको बताएका छन् । क्षेत्रीले घरायसी कारण वा मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारीको विषयमा परेको मुद्दाको विषयले पनि उनी तनावमा रहेको हुन सक्ने जानकारी गराए ।नेपाल मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारीको महासचिव हुन् । केही समय अगाडि फूलबारीस्थित चिडियाखानामा रहेको चितुवाको खोरमा काठ भेटिएको विषयलाई लिएर उद्यानका पदाधिकारीहरूविरूद्ध मुद्दा परेको थियो ।


प्रतिक्रिया दिनुहोस्