नेपाली राष्ट्रिय भलिबल टोलीमा ५ नयाँ अनुहार

काठमाडौं, २५ चैत्र /  चौथो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा रहेका २१ जना खेलाडीबाट ५ नयाँ अनुहारलाई १२ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीको कप्तानी इम बहादुर रानाले सम्हाल्नेछन् ।

टोलीमा पर्न सफल खेलाडीहरुमा कप्तान इमसँगै दिनेश गिरी, कुल बहादुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, हरि अधिकारी, दीपकराज जोशी, सुरेन्द्र बम, नरेन्द्र गिरी, राजु थकाली शेरचन, इश्वर थापामगर र विनोद चन्द रहेका छन् । राजु थकाली शेरचन, दीपकराज जोशी, सुरेन्द्र बम, विनोद चन्द र दिनेश गिरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् ।

राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका महेन्द्र श्रेष्ठ र भैरव बमले चोटका कारण टिममा स्थान बनाउन नसकेको प्रशिक्षक जगदिश भट्टले  जानकारी गराए । आर्मीलाई यो सिजन महत्वपूर्ण तीन उपाधि दिलाएका दुर्गा महतो र राजकुमार निरौलाले टिममा स्थान बनाउन सकेनन् । चौथो संस्करणको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप यही वैशाख ८ गतेबाट बंगलादेशमा शुरु हुदैछ । नेपाली टोली वैशाख ६ गते बंगलादेश प्रस्थान गर्ने प्रशिक्षक भट्टले जानकारी दिए ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणदेखि नै च्याम्पियनसिपमा सहभागिता जनाउनदै आएको थियो । दोस्रो संस्करणसम्म पदक जित्न असफल रहेको नेपालले गतवर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणमा कास्यपदक जित्दै नेपाली भलिबलमा ४२ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए ।


प्रतिक्रिया दिनुहोस्