मेस्सीले गरे लेगानेसविरुद्ध हृयाट्रिक

काठमाडौं, २५ चैत / स्पेनिस ला लिगामा लियोनल मेस्सीको हृयाट्रिक मद्दतमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले हराएको छ । बार्सिलोना ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्षअघि बनाएको कीर्तिमानसँग बराबरी गर्न समेत सफल भएको छ ।

बार्सिलोना ला लिगामा यो सिजनका ३१ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३८ खेलमा अपराजित छ । लेगानसविरुद्ध मेस्सीले २७, ३२ र ८७ औं मिनेटमा गोल गरेर हृयाट्रिक गरे । लेगानेसका लागि ६८ औं मिनेटमा एल जहारले एक गोल फर्काएका थिए । मेसीको यो ४५ औं हृयाट्रिक हो । जितपछि ३१ खेल खेलेको लिग लिडर बार्सिलोनाको ७९ अंक भएको छ ।

उसले अझै ७ खेल खेल्न बाँकी छ । बार्सिलोनामा भन्दा एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६७ अंकसहित दोस्रो स्थानमा र ३० खेल नै खेलेको रियल मड्रिड ६३ अंकसहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्